भारतीय कांग्रेस हाँक्ने कोहि भेटिएन: सोनियालाई नै सुम्पियो पार्टी
काठमाडौं- भारतीय कांग्रेसको कार्यसमितिले सोनिया गान्धीलाई अर्को व्यवस्था नभएसम्मका लागि अन्तरिम अध्यक्षका रुपमा रहन गरेको आग्रह उनले स्वीकार गरेकी छन् ।
नेताहरु केसी वेणुगोपाल र रणदीप सुरजेवालाले कार्यसमितिको बैठकको जानकारी दिँदै पत्रकार सम्मेलनमा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउने सम्बन्धमा सर्वसम्मतिमा प्रस्ताव पारित गरिएको बताए ।
प्रवक्ता सुरजेवालाका अनुसार पार्टीको नयाँ अध्यक्षको चयन आउँदो अधिवेशनबाट हुनेछ । पार्टीमा सुधारको माग गरी सोनिया गान्धीलाई २३ नेताले लेखेको पत्रलाई भुलेर अघि बढ्ने तय भएको पनि उनले बताए ।
सो पत्रको व्यहोरा सञ्चारमाध्यममा गएको प्रति भने बैठकमा चिन्ता व्यक्त भएको कार्यसमिति सदस्इ पीएल पूनियाले समाचार संस्था एएनआईसँग बताएका छन् ।
पार्टीका बारेमा खुला रुपमा पार्टी भित्रै छलफल हुनु पर्नेमा सो कुरा बाहिर गएकोप्रति बैठकमा चिन्ता व्यक्त भएको उनले बताएका हुन् ।
कार्यसमिति बैठकमा पार्टीका ५२ नेता सामेल रहेको महासचिव केसी वेणुगोपालले बताए । असामका पूर्व मुख्यमन्त्री तरुण गोगोई मात्रै स्वास्थ्यका कारण बैठकमा सहभागी हुन नसकेको उनले जानकारी दिए ।
सोमबार बैठक सुरु भए लगत्तै केही सञ्चारमाध्यममा नेता राहुल गान्धीले सोनिया गान्धीलाई पत्र लेख्ने २३ नेताको साँठगाँठ भाजपासँग रहेको बताएको भनि खबर आए ।
त्यसको प्रभावमा केही कांग्रेस नेताले सामाजिक सञ्जालमार्फत टिप्पणी गरे । तर कांग्रेसका वरिष्ठ नेताहरुले राहुल गान्धीले बैठक वा बाहिर कतै पनि त्यस्तो कुनै अभिव्यक्ति नभएको बताएपछि विरोधमा सामाजिक सञ्जालको प्रयोग गरेका नेताहरुले पनि माफी माग्दै आफ्नो अघिल्ला टिप्पणीहरु फिर्ता लिएका थिए ।