भारतीय कांग्रेस पार्टीले मोदी सरकारलाई भन्यो : नेपालसंग तत्काल वार्ता गर
एजेन्सी – नेपाल-भारत समा विवाद चलिरहेका बेला भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीले सरकारसँग कालापानी लिपुलेक क्षेत्रको विवादबारे जवाफ माग गरेको छ ।
साथै भारतीय कांग्रेसले नेपालसँगको विवाद वार्ताबाट छिट्टै सुल्झाउनुपर्ने बताएको छ । संसदीय प्रजातन्त्रको मर्यादा अनुसार यो विवादबारे सबै पार्टीलाई सरकारले जानकारी दिनुपर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसका विदेश विभाग प्रमुखसमेत रहेका राज्यसभा सदस्य आनन्द शर्माले आफ्नो स्टेटमेन्टमा नेपालले नयाँ नक्शा जारी गरेर लिपुलेक र कालापानी दाबी गर्नु राष्ट्रिय चासोको विषय भएको जनाएका छन् ।
भारतले सँधै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखन्डताको सम्मान गरेको पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, “विवाद एक चरणमा पुग्दा यसले मैत्रीपूर्ण सम्बन्धमा प्रभाव पार्नु चिन्ताको विषय हो । यसलाई तुरुन्त सुल्झाउनुपर्छ ।”
दुवै देशले सीमाका ९८ प्रतिशत समस्या समाधान गरेको उनले जनाएका छन् । यो विषय समाधानका लागि पनि कुटनीतिक पहल र वार्ता आवश्यक भएको उनको स्टेटमेन्टमा उल्लेख छ ।
कांग्रेस वार्ताकै पक्षमा रहेको उनले बताएका छन् । शर्माले भनेका छन्, “कांग्रेसको स्पष्ट दृष्टिकोण छ कि यो विषय सुल्झाउन कुटनीति र वार्तालाई मौका दिनुपर्छ ।”