भारतको चुनावमा भोट नहाल्न आतंकवादीको यस्तो चेतावनी !
नयाँदिल्ली : भारतमा हुन लागेको लोकसभा चुनावको संघारमै हतियारधारी समुह हिजबुल मुजाहिद्धिन र अन्सर घजवातुल हिन्दले चुनावकेन्द्र तथा नेताहरुको नजिक नरहन स्थानीय जनतालाई चेतावनी दिएका छन् ।
यस्तो चेतावनी सहितको एक अडियो रेकर्ड सामाजिक संजालमा आइतबारदेखि भाइरल नै बनेको हो । कश्मीर क्षेत्रका मतदातालाई लक्षित गरी अडियो सार्वजनिक भएको बुझिएको छ ।
पार्टी र उम्मेद्वारलाई लक्षित गरी आक्रमण हुनसक्ने तर आम जनतालाई आक्रमण गर्ने लक्ष्य नरहेको भन्दै आम जनतालाई चुनावकेन्द्र र नेताको नजिक नै नजान अडियोमा चेतावनी दिइएको हो ।
भारतमा आतंकवादी समूह भनिने ती हतियारधारी भूमिगत समुहका नेताहरुले यस्तो चेतावनीपूर्ण अडियो आइतबार सार्वजनिक गरेका हुन् । हिजबुलका कमान्डर रियाज नाइकूले मतदान नगर्न र केन्द्रमा नजान जनतालाई अडियोमार्फत ‘आग्रह’ गरेका छन् । अडियोमा र्याली र आमसभामा सामेल नहुन पनि चेतावनी दिइएको छ । जम्मु र कश्मीरको पहिलो चरणको चुनाव अप्रिल ११ मा हुँदै छ ।
स्थानीय प्रहरीले भने उक्त अडियोलाई पुष्टि नगरे पनि यस्तो चेतावनीपूर्ण सन्देश आउनसक्ने पूर्वानुमान रहेको बताएको छ । १५ मिनेटको अडियो क्लिपमा नाइकूले केही स्थानीय नेताहरुको नाम नै उच्चारण गरेर उनीहरु ‘भारतीय एजेन्ट’ भएको दावी गरेका छन् । उनले अडियोमा भनेका छन्, ‘जजसले चुनावी भेलामा भाग लिँदै हुनुहुन्छ र जजसले भोट हाल्ने सोच्दै हुनुन्छ, म उहाँहरुलाई भन्न चाहन्छु कि, तपाईँहरुको स्वतन्त्रताको लागि वलिदानी दिनेहरुलाई कसरी सम्झनुहुन्छ ? कश्मीर आन्दोलनका क्रममा आँखा गुमाउने बालबालिकाहरुलाई के भन्नु हुन्छ ?’
जुन पार्टीले इन्डियाले कश्मीर नियन्त्रण गर्ने चाहना राख्छ त्यस्ता पार्टीलाई भोट नहालन पनि अडियोमा आग्रह गरिएको ‘द प्रिन्ट’ले जनाएको छ ।