भारत सेमिफाइनलको यात्रामा : वेष्ट इण्डिजको लज्जास्पद हार - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारत सेमिफाइनलको यात्रामा : वेष्ट इण्डिजको लज्जास्पद हार



एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप २०१९ मा वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको छ । बिहीबार म्यानचेस्टरमा भएको खेलमा भारीसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित हुँदै वेस्टइन्डिजको यात्रा समाप्त भएको हो ।

वेस्टइन्डिज लिग चरणबाटै बाहिरिने तेस्रो टिम हो । यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेका छन् । ७ खेलमा १ मा जित र ५ मा हार ब्याहोरो वेस्ट इन्डिज बाँकी दुई खेल अगावै बाहिरिएको हो ।

वेस्ट इन्डिजमाथि फराकिलो जित निकाल्दै अपराजित यात्रा कायमै राखेको भारत भने सेमिफाइनल नजिक पुगेको छ । ६ खेलमा ५ मा जित सहित ११ अंकका साथ दोस्रो स्थानमा उक्लिएको भारतले बाँकी तीन खेल मध्य एकमा विजयी भए सेमिफाइनलमा प्रवेश गर्ने छ ।

२ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.२ ओभरमा अल आउट हुँदै १ सय ४३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि ओपनर सुनिल एम्ब्रिसले सर्वाधिक ३१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । निकोलस पुरन २८,शिम्ररोन हिटमायर १८,केमर रोच १४ र शिल्डन कर्टेलले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

सुरुवात देखीनै खराब प्रर्दशन गरेको वेस्ट इन्डिजले निरन्तर विकेट गुमाउँदै सस्तैमा अल आउट भयो । वेस्ट इन्डिजका कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । ओपनर क्रिस गेल ६,शाई होप ५, कप्तान जोसन होल्डर ६,कार्लोस वर्थवेट १,एविएन एलिन डक र ओसन थोमस ६ रनमा आउट भए ।

भारतका लागि मोहम्मद शामीले ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र युजवेन्द्र चाहलले समान २ विकेट हात पारे । हार्दिक पान्ड्या र कुलदीप यादवको नाममा पनि १-१ विकेट रह्यो ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको योगदान दिए । ३९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि कोहलीले ८२ बलमा ८ चौका प्रहार गरे ।

भारतले पहिलो विकेटका रुपमा ओपनर रोहित शर्मालाई १८ रनमा गुमाएको थियो । केमर रोचको छैटौं ओभरको अन्तिम बलमा कटविहाइन्ड निकाल्दै शाई होपबाट क्याच गराउँदै पेभिलिएन फर्काए । सुरुवाती समय एम्पारले आउट नदिएपनि कप्तान जोसन होल्डरले रिब्यु लिदै रोहितलाई पेभिलिएनको बाटो देखाए ।

२१ ओभरको चौथो बलमा होल्डरले अर्का ओपनर केएल राहुललाई ४८ रनमा बोल्ड आउट गरे । राहुलले ६४ बलमा ६ चौका प्रहार गरे । २७ ओभरको पहिलो बलमा विजय शंकर १४ रनमा क्याच आउट भए । केदार जाधव ७ रनमा क्याच आउट भएपछि भारत दबाबमा परेको थियो ।

छैटौं विकेटका लागि महेन्द्र सिंह धोनी र हार्दिक पान्ड्याले ७० रनको साझेदारी गर्दै भारतको इनिङ उकासे । धोनी ६१ बलमा ३ चौका र २ छक्का सहित ५६ रनमा अविजित रहे । हार्दिकले ३८ बलमा ५ चौका सहित ४६ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि केमर रोचले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै कप्तान जोसन होल्डर र शिल्डन कर्टेलको नाममा समान २ विकेट रह्यो ।