झनै बढी थलिंदै भारत: एकैदिन सर्वाधिक संक्रमित भेटिए
नयाँदिल्ली- भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका ७५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एक दिनमै यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । बुधबार थपिएका ७५ हजार ६ सय ७० संक्रमितसँगै भारतमा संक्रमितको संख्या संख्या ३३ लाख नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहानसम्ममा ३३ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमित हुनेमध्ये २५ लाखभन्दा बढी निको समेत भइसकेका छन् । त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६० हजार ४७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामै संक्रमणका कारण १ हजार २३ जनाले ज्यान गुमाएका छन् ।
भारत विश्वका कोरोना भाइरसले संक्रमित मुलुकहरुमध्ये अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । त्यसैगरी कोरोना संक्रमणबाट बढी मृत्यु हुने मुलुकहरुमा भने भारत अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । बुधबारसम्म संक्रमणबाट बढी मृत्यु हुने मुलुकमा मेक्सिको तेस्रो स्थाानमा रहेको छ । तर, पछिल्ला दिनमा भइरहेको संक्रमणलाई हेर्दा भारतले चाँडै नै ब्राजिललाई उछिन्ने देखिन्छ ।
भारतमा विगत केही सातायता संक्रमणको विस्तार उच्च देखिएको छ । भारतमा ३६ प्रदेश तथा केन्द्र शासित राज्यहरुमध्ये महाराष्ट्र, तमिलनाडु र आन्ध्रमा अत्यधिक संक्रमण रहेको छ । यसबाहेक नेपालसँग सिमा जोडिएका बिहार र उत्तरप्रदेशमा पनि संक्रमणमा तीव्र गतिमा फैलिरहेको छ ।
भारतमा पहिलो संक्रमण ३० जनवरीमा दक्षिण भारतीय राज्य केरलामा पुष्टि भएको थियो । तर, सात महिना नपुग्दै संक्रमितको संख्याले तीस लाख नाघेको हो । भारतमा संक्रमित संख्या पहिलो एक लाख पुग्न साढे तीन महिना लागेकोमा थप पछिल्लो चार महिनामा ३२ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा अगस्ट महिनामा मात्रै १५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण बढेसँगै भारत परीक्षणको दरलाई पनि बढाउँदै लगेको छ । भारतमा बुधबार मात्र ९ लाखभन्दा बढी पीसीआर परीक्षण गरिएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले जनाएको छ । भारतमा हालसम्म ३ करोड ८५ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ ।