भारतमा अस्वाभाविक मृत्युदर: एकैदिन ६ हजार भन्दा बढीको मृत्यु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतमा अस्वाभाविक मृत्युदर: एकैदिन ६ हजार भन्दा बढीको मृत्यु



काठमाडौं– भारतमा दैनिक संक्रमितको संख्या घटेपनि अस्वाभाविक रूपमा बढेको मृत्युदर भने चिन्ताको बिषय बनेको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो।

बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ९३ हजार ८९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ।

कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ५९ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ७६ लाखभन्दा बढी निको भइसकेका छन् भने ११ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४२ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने ४४४ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७१ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी संक्रमित थपिँदा २४ सय ८४ जनाको मृत्यु भएको छ।