ठूलो सङ्कटमा भारत : आजै घर फर्कने सङ्केत
एजेन्सी – फाइनल प्रवेशका लागि न्युजिल्यान्डले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको भारत संकटमा परेको छ ।
भारतले चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको हो ।
दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई कट निकाल्दै विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए। तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराए भने १० ओभर नपुग्दै दिनेश कार्तिक पनि आउट भए । भारतले १७ ओभरमा ४ विकेट गुमाउँदै ५० मात्र रन बनाएको छ । भारतले २ सय ४० रनको लक्ष्य पक्ष्याइरहेको छ ।
मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।
न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ६७ रनबाट खेल्न सुरु गरेका उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।
मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे । न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।
भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।