भारतको सेमिफाइनल यात्रा रोकिनसक्ने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतको सेमिफाइनल यात्रा रोकिनसक्ने



काठमाडौं – जारी आइसिसी विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रामा इंग्ल्याण्डले पूर्णविराम लगाइदिएको छ । आइतबार इंग्ल्यान्डसँग ३१ रनले पराजित भएसँगै भारतको मनोबलमा पनि कमि आएको छ।

खेल हार्नेबित्तिकै कप्तान कोहलीले धोनी र केदारमाथि आरोप समेत लगाएपछि भारतको मनोबल कमजोर भएको देखिएको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन जोडेको थियो। जवाफीब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानी ३०६ रन मात्र जोड्न सक्यो।

यो खेल भारतको प्रतिष्ठासंग जोडिएको थियो । यदि यो खेल जितेको खण्डमा भारत शक्तिमान बन्ने अवसर थियो भने बलियो दाबेदार इंग्ल्याण्ड विश्वकपबाट बाहिरिने थियो । हारपछि केहि दिन अघि इंग्ल्यान्डलाई पछि पारेर विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको भारतलाई झड्का लागेको छ।

भारतीय कप्तान विराट कोहली आफ्नो टिमको हारको दोष पीच र छोटो बाउन्ड्रीलाई दिन्छन्। उनले मैदानको बाउन्ड्री छोटो भएको भन्दै प्रश्न उठाएका थिए।

यस्तै विराट भारतले कुनै एक समय उत्कृष्ट ब्याटिङ गरेपनि लक्ष्य भेट्टाउन इंग्लिस बलर बाधक बनेको स्वीकार गर्छन्।

इंग्ल्यान्डसँग पराजित भएसँगै भारतमाथि दबाब बढेको छ। अब भारतका लागि बंगलादेशविरुद्ध हुने खेल महत्वपूर्ण छ। जारी विश्वकपमा उत्कृष्ट खेलिरहेको बंगलादेशले जित हात पारेमा भारतमाथि थप दबाब बढ्नेछ।

बंगलादेशसँग पराजित भएमा भारतका लागि श्रीलंकाविरुद्धको अन्तिम खेल गर या मर जस्तै हुनेछ।

आइतबार इंग्ल्यान्ड विजयी भएसँगै श्रीलंकाको विश्वकपको यात्रा समूह चरणबाटै सकिसकेको छ। अब अन्तिम खेलमा जित हात पारेर श्रीलंकाले आफू मात्र होइन भारतलाई पनि डुबाउने त होइन?

तर सेमिफाइनल दौडमा रहेका अन्य टिम भन्दा भारत सहज परिस्थितिमा छ। भारतलाई अन्तिम चारमा पुग्न बाँकी रहेका २ खेल मध्ये एक खेलमा अंक जोडे पुग्छ।

सुरुवाती खेलमा उत्कृष्ट बलिङ गरेका भारतीय बलर इंग्ल्यान्डविरुद्ध किन चल्न सकेनन्?

इंग्लिस ओपनरद्वय जासन रोए तथा जोनी बेयरस्टोले सानदार सुरुवात गरेकाले भारतीय बलर सुरुवातमै दबाबमा परेका थिए। कुनै समय इंग्ल्यान्डले ४ सय रन बनाउने अनुमान समेत गरिएको थियो।

इंग्लिस ओपनिङ जोडीले पहिलो विकेका लागि १६० रनको साझेदारी गरेका थिए। खेलमा बेयरस्टोले सतक प्रहार गरेका थिए। उनी आउट भए लगत्तै कप्तान इयान मोर्गान सस्तैमा आउट भए। तर बेन स्टोक्सले उत्कृष्ट खेल्दा इंल्यान्डको स्कोरले गति लिएको थियो।

विकेट लिन नसकिएको अवस्थामा भारतका युगभेन्द्र चाहाल र कुलदिप यादवले संघर्ष गरेका थिए। भारतका लागि भरोसा गर्न लायक बलर जसप्रित बुमराह मात्र हुन्। उनी मुस्किल परस्थितिमा पनि विपक्षीमाथि दबाब दिन सक्छन्।

खेलमा मोमहद सामीले पनि उत्कृष्ट खेले। इंग्ल्यान्डविरुद्ध ५ विकेट लिँदै उनले आफूलाई प्रमाणित गरेका थिए।

इंग्ल्यान्डविरुद्ध भारतको राम्रो साझेदारी हुन सकेन। विराट कोहली र रोहित शर्माबीच भएको साझेदारी सुस्त हुँदा भारतले खेल हारेको विश्लेषण गरिएको छ।