भारतमा मोदी रोजाई, वामपन्थीको बिदाइ - नेपालमा हिन्दूवादीलाई राहत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतमा मोदी रोजाई, वामपन्थीको बिदाइ – नेपालमा हिन्दूवादीलाई राहत



काठमाडाैं । भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको छ ।

प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)को कुल सिट ८८ मात्र पुगेको छ ।

१६ राज्यमा कंग्रेस शून्य, राहुल गान्धीले समेत हारे
१३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए । तर, निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जिते ।
भारतका कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको छ । दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।

मोदीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सहकार्य गर्न इच्छुक छु ।’ मोदीले जवाफ दिए, ‘सम्बन्ध अझै उचाइमा लग्नेछौँ ।’
नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा, परराष्ट्रमन्त्री ज्ञवाली र कांग्रेस नेता पौडेलको शुभकामनाप्रति मोदीले ट्विटरबाटै आभार व्यक्त गरे
पाकिस्तान, चीन, अमेरिका, इजरायल, रसियाबाट पनि मोदीलाई बधाईको ओइरो
कार्यकर्तालाई संयमित हुन भन्दै राहुलले शतप्रतिशत जिम्मेवारी लिए, मोदीलाई बधाई दिए
सिक्किममा २५ वर्षपछि चाम्लिङ शासन ढल्यो

चाम्लिङ गोले

पाँचपटक चुनाव जितेर सिक्किमको नेतृत्व गरिरहेको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले विधान सभामा बहुमत गुमाएको छ । ३२ सिट रहेको सिक्किममा चाम्लिङको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएको छ ।

पिएस गोले नेतृत्वको मोर्चाले बहुमतका लागि आवश्यक १७ स्थानमा विजय हासिल गरेको छ । भाजपासँग सहयोग गरेको यो दलले लोकसभाको एक मात्र सिट पनि जितेको छ । गोलेको दल २०१३ मा मात्र स्थापना भएको हो ।

चाम्लिङ नेतृत्वको एसडिएफले १४ स्थान जितेको छ, एक स्थानमा उसको अग्रता छ । चाम्लिङ २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री थिए । उनी सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित मुख्यमन्त्री पनि हुन् । चाम्लिङले सन् २००४ मा ३१, २००९ मा ३२ र २०१४ मा २२ सिट जितेका थिए । उनी सन् १९९४ देखि सत्तामा थिए ।

वामपन्थीहरूको बिदाइ : येचुरीको दललाई जम्मा १ सिट

भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो । २००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ । बंगालमा त्रिणमुल कंग्रेसले ४३.९% मतसहित २२ र भाजपाले ४०.२% मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२% मतसहित २ सिट जितेको छ । तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९% मत पाएको छ । त्रिपुरामा १७.३३% मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१% छ ।

त्यस्तै, केरला राज्य सरकारमा सत्तारुढ दल सो पार्टीले २५.६९% मत ल्याएर पनि जम्मा एक सिटमा अग्रता लिएको छ । भारतभर उसले पाएको अग्रता यही हो । उता, ३७.२७% मतका साथ कंग्रेसले केरलामा १५ सिट जितेको छ । २० मध्ये बाँकी चार सिट पनि उसैका सहयोगीले पाएका छन् ।

धेरै चर्चितले जिते तर कन्हैयाकुमारले हारे

जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति कन्हैयाकुमार सबैभन्दा चर्चित उम्मेदवार थिए । जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तरसम्मका साहित्यकार उनको प्रचारमा आएका थिए । यो क्षेत्रमा कन्हैयाको दल सिपिआईले एक लाख ९२ हजार मत मात्र प्राप्त गरेको थियो । यसपालि कन्हैयाले एक लाख मत बढाए । तर, मोदीको आँधीका अगाडि उनको जोर चलेन । उनले दुई लाख ६७ हजार मात्र मत प्राप्त गरे । केन्द्रीय मन्त्री तथा भाजपा उम्मेदवार गिरिराज सिंहले ६ लाख ८७ हजार मत प्राप्त गरे । यसरी चार लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे ।

तर, भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलेब्रिटीले चुनाव जितेका छन् । मथुराबाट हेमा मालिनीले जित दोहोर्‍याएकी छिन् भने उनका छोरा सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट पहिलोपटक चुनाव जितेका छन् । त्यस्तै, भोजपुरी स्टार रविकिसनले गोरखपुरबाट पहिलोपटक चुनाव जितेका छन् भने मनोज तिवारीले दिल्लीबाट जित दोहोर्‍याएका छन् ।

दिल्लीमा संगीतकार हंसराज हंसले पनि भाजपाबाटै चुनाव जितेका छन् । त्यस्तै, क्रिकेटर गौतम गम्भीरले दिल्लीबाटै चुनाव जितेका छन् । भाजपाबाटै टिकट पाए पनि जयप्रदाले उत्तर प्रदेशको रामपुरबाट हारेकी छिन् । उनलाई समाजवादी पार्टीका आजम खानले हराएका छन् । भाजपाले टिकट नदिएपछि शत्रुघन सिन्हालाई यसपालि कंग्रेसले साथ दिएको थियो, तर पटना साहिवका जनताले साथ दिएनन् । त्यस्तै, मुम्बईमा कंग्रेसकै तर्फबाट उठेकी उर्मिला मातोडकरले पनि चुनाव जित्न सकिनन् ।

अब सार्क अघि बढ्नेमा विश्वस्त छौँ : डा. राजन भट्टराई
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

प्रधानमन्त्रीज्यूले टेलिफोन गरेर बधाई दिँदै सन् २०१८ मा उचाइमा पुगेको नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । अब सम्बन्ध समस्यारहित हुनेछ र यसका लागि दुवै पक्षबाट प्रयत्न हुनेछ । अब सार्क प्रक्रिया अघि बढ्नेमा हामी विश्वस्त छौँ । नेपाल–भारत इपिजीको प्रतिवेदन दुवै सरकारले बुझ्ने र कार्यान्वयनमा जानेमा पनि हामी विश्वस्त छौँ ।

भारतको विदेश नीति बदलिँदैन : दीपकुमार उपाध्याय,
भारतका लागि पूर्वराजदूत

नरेन्द्र मोदीको नेतृत्वमा पुनः सरकार गठन हुँदैमा भारतको परराष्ट्र नीति परिवर्तन हुँदैन । उनीहरूको नेपाल नीति अहिलेकै निरन्तर रहन्छ । मोदी नेपाललाई पवित्र तपोभूमि–देवभूमिका रूपमा मान्दछन् । मोदी नेपालप्रति सकारात्मक छन् । नेपालले साझा परराष्ट्र नीति तय गर्नुपर्छ र विश्वासको सम्बन्धका लागि प्रयास गर्नुपर्छ । हामीकहाँ सत्तारुढ पार्टीभित्र भारत नीतिमा एकमत छैन । हामी स्पष्ट हुनुपर्छ र कूटनीतिक कौशल देखाएर सम्बन्ध थप मजबुत बनाउनुपर्छ ।

हिन्दूवादीलाई राहत, तर केही हुँदैन : प्रा.डा. लोकराज बराल,
भारतका लागि पूर्वराजदूत
हाम्रा क्रियाकलाप, आन्तरिक विकासक्रमले नै भारत मात्र होइन विश्वका अन्य सरकारसँग सहकार्यमा असर गर्छ । भारतमा भाजपाको एजेन्डा हिन्दूराष्ट्र हो जसको प्रभाव नेपालमा नपर्ने भन्ने हुँदैन । मोदीको आगमनले नेपालका हिन्दूवादीलाई राहत दिन्छ । हाम्रा जनता पनि ‘सेन्टिमेन्टल’ हुनाले प्रभावमा पर्लान् । तर, नेपाल फेरि पछि हट्नुपर्ने अवस्था आउनेछैन । विकासका लागि मोदी नेतृत्वको सरकारसँग नेपालले सार्थक सहकार्य गर्नुपर्छ । (नयाँपत्रिका दैनिकबाट)