कोरोनाको अर्को केन्द्र बन्दै भारत - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कोरोनाको अर्को केन्द्र बन्दै भारत



काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

आइतबार एकै दिन भारतमा २८ सय ६ जना संक्रमित थपिएका छन्। यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो।

संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले ज्यान गुमाएका छन्। यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ९१ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा अहिलेसम्म संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ। संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।

महाराष्ट्रमा १२ हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातमा पाँच हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। राजधानी नयाँदिल्लीमा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।

कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ। त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ।

यसैबीच विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ। सोमबार बिहान सवा ७ बजेसम्मको तथ्यांकअनुसार विश्वमा २ लाख ४८ हजार २ सय ४५ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या ३५ लाख ६५ हजार नाघेको छ। सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म संक्रमणको कारण ६८ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन्।