भारतको कहालीलाग्दो अवस्था: २४ घण्टामा विश्वमै सबैभन्दा बढी संक्रमित र मृतक - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

भारतको कहालीलाग्दो अवस्था: २४ घण्टामा विश्वमै सबैभन्दा बढी संक्रमित र मृतक



काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा बढी ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो।

संक्रमणको कारण भारतमा बुधबार साढे नौ सयले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय ३८ पुगेको छ। यो बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय ४६ जनाले काेराेनाकाे कारण ज्यान गुमाएका छन्। सबैभन्दा धेरै अमेरिकामा एक हजार तीन सय ८१ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा एक हजार एक सय ६४, मेक्सिकोमा नौ सय २६, कोलम्बियामा तीन सय ६२, दक्षिण अफ्रिकामा दुई सय ५९, अर्जेन्टिनामा दुई सय नौ, इरानमा एक सय ८८, रुसमा एक सय २९ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७४ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ब्राजिलमा ५८ हजार भन्दा धेरै, अमेरिकामा ५४ हजारभन्दा धेरै, कोलम्बियामा १२ हजारभन्दा धेरै, मेक्सिकोमा ६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ८६ हजार तीन सय ४९ पुगेको छ भने संक्रमणकाे कारण सात लाख ५१ हजार पाँच सय ५५ जनाले ज्यान गुमाएका छन्।