भारतमा घट्यो कोरोना संक्रमण र मृत्युदर - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतमा घट्यो कोरोना संक्रमण र मृत्युदर



काठमाडौं– डरलाग्दो गरि फैलिएको संक्रमण भारतमा ओरालो लागेको छ । केही दिनदेखि दैनिक चार लाखको हाराहारीमा बढिरहेको संक्रमित संख्या पछिल्लो २४ घण्टामा ब्यापक घटेको हो।

यो २४ घन्टामा समयमा त्यहाँ सवा तीन लाखको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ५१७ जना नयाँ संक्रमित थपिँदा ३८ सय ७९ जनाको मृत्यु भएको छ।

यो संक्रमित संख्या अघिल्लो दिनको तुलनामा धेरै कम हो। अघिल्ला केहि दिन भारतमा चार लाख भन्दा बढी संक्रमित भेटिएका थिए । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड २३ लाख पुगेको छ।

पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ७९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ५० हजार नाघेको छ।

संक्रमितमध्ये एक करोड ९० लाखभन्दा बढी निको भइसकेका छन् ३७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३५ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब २८ हजार संक्रमित थपिएका छन् भने ३५५ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ५२ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा २९ हजारभन्दा बढी संक्रमित थपिँदा एक हजार १८ जनाको मृत्यु भएको छ।