भारतले फेरि भन्यो: गौतम बुद्ध महान् भारतीय - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

भारतले फेरि भन्यो: गौतम बुद्ध महान् भारतीय



नयाँदिल्ली- भारतका विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गरेका छन्।

उनले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका हुन् ।

उनले सम्बोधनमा भनेका छन्, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छ ।’

‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ’ सम्मेलनलाई सम्बोधनका क्रममा जयशंकरले भनेका छन् ।

भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए ।

मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो । तर उनै मोदीले ठिक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए । मोदीको गरेको उक्त सम्बोधनले नेपालमा निकै वाहवाही पाएको थियो । तर, नेपालमा त्यस्तो अभिव्यक्ति दिएका मोदीले नै बेलाबखत बुद्ध भारतीय भएको दाबी गर्दै आएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा पनि मोदीले भारतले विश्वलाई बुद्ध दिएको दाबी गरेका छन् ।

भारतीय पक्षबाट बेलाबखत आउने यस किसिमका अभिव्यक्तिहरुको नेपालमा चर्को विरोध हुँदै आएको छ । सन् २०१३ मा भारतीय टेलिभिजन च्यानल जीले प्रसारण गरेको बुद्धको जीवनीमा आधारित सिरियललाई लिएर पनि ठूलो विवाद भएको थियो । उक्त सिरियलमा बुद्धलाई भारतीय भएको देखाइएको थियो । त्यसपछि फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा उक्त सिरियलमाथि तत्काल प्रतिबन्ध लगाउनुपर्ने मागसहित तीव्र आक्रोश प्रकट गरिएको थियो । नेपालमा चर्को विरोध भएपछि नेपालका केबल अपरेटरहरुले उक्त सिरियलको प्रसारणमै रोक लगाएका थिए ।

त्यसताका नेपाल भ्रमणमा रहेकी भारतीय विदेश सचिव सुजाता सिहंले दिल्ली फर्कनुअघि काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बुद्ध नेपालमै जन्मेको भन्नेमा कुनै विवाद नरहेको भन्दै अभिव्यक्ति दिएकी थिइन् । साथै काठमाडौंस्थित भारतीय दूतावासले पनि वक्तव्य जारी गर्दै बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको कुरामा भारत सरकारले प्रष्ट रहेको बताएको थियो । पछि उक्त सिरियलका प्रमुख कलाकार कविर वेदीले पनि ट्विटरमार्फत् माफी मागेका थिए ।

भारतीय पक्षबाट लुम्बिनीका सम्बन्धमा हुँदै आएका यस किसिमका अभिव्यक्तिले नेपालमाण् तीव्र प्रतिरोध हुँदै आएको छ ।