भारतमा बेहाल: एकैदिन करिब ३ लाख संक्रमित, २ हजारको मृत्यु - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारतमा बेहाल: एकैदिन करिब ३ लाख संक्रमित, २ हजारको मृत्यु



काठमाडौं- भारतमा मंगलबार थप २ लाख ९४ हजार २९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। यो संख्या एक दिनमा संक्रमित थपिएका अहिलेसम्मकै बढी हो।

त्यहाँ लगातार चौथो दिन साढे दुई लाखभन्दा बढी संक्रमित थपिएका हुन्। आइतबार २ लाख ७५ हजारमा संक्रमण पुष्टि भएको थियो भने सोमबार मात्र २ लाख ५६ हजारमा संक्रमण देखिएको थियो।

मंगलबार भारतमा कोरोना संक्रमणबाट २ हजार २० जनाले ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५०० नाघेको छ। 

भारतमा हालसम्म १ करोड ५६ लाख ९ हजारभन्दा बढीलाई संक्रमण भइसकेको छ भने तीमध्ये १ करोड ३२ लाख ६९ हजार ८०० संक्रमणमुक्त भएका छन्। उपचाररत सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५०० को हाराहारीमा छ।

अस्पताहरुमा अक्सिजन, बेड र भेन्टिलेटरको अभावका बीच भारतमा कोरोना संक्रमणको दोस्रो लहर भयावह हुँदै गएको छ। 

दिल्ली, कर्नाटक र केरल राज्यमा एकदिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित  भेटिएका छन्। दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ३९५ जना नयाँ संक्रमित थपिए भने २७७ जनाको मृत्यु भयो। 

संक्रमितको संख्या बढ्दै स्थिति नियन्त्रणबाहिर जाने देखिएपछि दिल्लीमा सोमबार रातिदेखि साताव्यापी बन्दाबन्दी लागू गरिएको छ। 

यस्तै, कर्नाटकमा एकदिनमा पहिलो पटक २१ हजारभन्दा बढी संक्रमित थपिएका छन्। त्यहाँ बुधबारदेखि ४ मेसम्म रात्रिकालीन कर्फ्यूको घोषणा गरिएको छ। 

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई बन्दाबन्दीबाट बचाउनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले राज्य सरकारहरुले संक्रमण रोकथामका लागि अन्य उपायलाई प्राथमिकता दिएर बन्दाबन्दीलाई अन्तिम विकल्पमा मात्र प्रयोग गर्नुपर्ने बताए।