भारतीय प्रहरीका १२२ जवानमा एकाएक सल्कियो कोरोना: अन्यको जाँच हुँदै - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

भारतीय प्रहरीका १२२ जवानमा एकाएक सल्कियो कोरोना: अन्यको जाँच हुँदै



नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान दुई हप्ताभित्रै कोरोना भाइरसबाट संक्रमित भएको समाचार संस्था पिटिआईले जनाएको छ ।

अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । सिआरपिएफका जवान संक्रमित भएपछि चासो अधिक भएको छ । स्वास्थ्य मन्त्रालयले सिआरपिएफका प्रमुखसँग के कारणले जवानहरुलाई संक्रमित हुनबाट रोक्न सकिएन भनेर जानकारी लिएको खबरमा उल्लेख छ ।

सिआरपिएफको ३१ बटालियन क्याम्प दिल्लीको मयूर विहार फेस–३ मा रहेका जवान संक्रमित भएका हुन् । सो बटालियनमा पछिल्लो दुई दिनमा संक्रमणको दर उच्च भएको जनाइएको छ । यो हप्ताको सुरुमा एक जवानको सफदरजंग अस्पतालमा निधन भएको थियो । शुक्रबार बटालियनका १२ जनामा संक्रमण पुष्टि भएको हो । दुई दिनअघि ४५ जना जवानमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित जवानको मंडावलीमा उपचार भइरहेको छ । सिआरपिएफएका एक पारामेडिकल स्टाफबाट जवानहरुमा संक्रमण फैलिएको आशंका छ ।

यो महिनाको सुरुवातमा ती पारामेडिकल स्टाफमा कोरोना भाइरसको लक्षण देखिएको थियो । अप्रिल २१ मा उनी संक्रमित रहेको पुष्टि भएको थियो । उनलाई दिल्लीको राजिव गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।

अप्रिल २४ मा ९ जवानमा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट थप १५ जनामा संक्रमण पुष्टि भएको थियो।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्म सबैभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा २२ सय ९३ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । दिल्लीमा सबैभन्दा धेरै ३७ सय ३८ जना संक्रमित छन् ।