आजतकको खुलासा : नेपाली सीमाबाट भारतमाथि आक्रमणको योजना - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

आजतकको खुलासा : नेपाली सीमाबाट भारतमाथि आक्रमणको योजना



काठमाडौं। पाकिस्तानी खुफिया एजेन्सी आएसआईले जम्मू–कश्मीरमा अफलता पाएपछि नेपालको बोर्डरबाट भारतमाथि आक्रमणको योजना बनाएको खुलासा भएको छ। आईएसआईले नेपाल–भारत बोर्डरमा लश्कर–ए–तैयबाको योजनामा जाल बिछ्याइरहेको भारतीय संचारमाध्यम आजतकले दावीसहितको समाचार छापेको छ।

आफूहरुलाई सूचना आएको बताउँदै आजतकले आइएसआईले लस्करका नेपालमा रहेका स्लीपर सेलका कमान्डर उमर समस उर्फ उमर मदनीलाई जिम्मा दिएको बताएको छ। मदनी नेपाल–भारतको बोर्डरमा तराई क्षेत्रमा रहेका मुस्लिम युवाहरुलाई आकर्षण देखाएर उनीहरुको दिमाग भुट्ने काममा सक्रिय भएको आजतकले जनाएको छ।

उक्त कामका लागि कपिलबस्तु जिल्लाको बोर्डर छनोट भएको समेत बताइएको छ। दावीअनुसार मदनी त्यस्ता युवाहरुलाई थप अभ्यासका लागि पाकिस्तान पठाउने अभियानमा रहेका छन्। त्यसैगरी मोरङ्ग जिल्लामा समेत लश्करका सन्दिग्ध मदनी नयाँ योजना बनाएर अगाडि बढिरहेको समेत उक्त मेडियामा उल्लेख छ।

मदनीले ‘नेपाल एडुकेशनल एण्ड वेलफेयर सोसाइटी’मार्फत भारत विरोधी गतिविधि फैलाइरहेको आजतकको आरोप छ। भारतीय गृहमन्त्रालयलाई दिइएको जानकारी अनुसार मदनी आफ्नो एनजीओमार्फत विदेशबाट कोष समेत संकलन गरिरहेको बताइएको छ।

भारतले नेपालको बोर्डरलाई पाकिस्तानीहरुले आफूहरुलाई आक्रमण गर्न प्रयोग गरिरहेको शंका यसअघि पनि गर्दै आएको छ। पाकिस्तानबाट नेपालको बोर्डर १७५१ किलोमिटरको दूरीमा रहे पनि योजना सफल बनाउन भने उपयुक्त थलोको रुपमा रहेको बताइन्छ। आजतकले सन् १९९१ मा पनि सुनौली बोर्डरबाट आतंकवादी पक्राउ गरिएको बताएको छ।

गत जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पौने ८ करोड बराबरको भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसरका अनुसार कतारको दोहाबाट उडेको कतार एयरवेजको विमानबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट काठमाडौं ल्याइएको थियो। पक्राउ पर्नेमा पूर्व संचार व्यवसायी युनुस अन्सारीसमेत रहेका थिए। नेपालबाट हुने जाली नोट तथा सुन तस्करीमा समेत भारतले गहिरो निगरानी गरिरहेको आजतकले जनाएको छ।