भारत कोरोना नियन्त्रणमा असफल: स्पेन र इटालीलाई पनि जित्यो - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

भारत कोरोना नियन्त्रणमा असफल: स्पेन र इटालीलाई पनि जित्यो



काठमाडौं – भारत कोरोना भाइरस संक्रमित हुनेको सूचीमा पाँचौं स्थानमा पुगेको छ । भारतमा पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार कूल संक्रमितको संख्या इटाली र स्पेनको भन्दा बढी भएको छ ।

जसअनुसार भारतमा संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६२८ पुगेको छ । इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा अहिलेसम्म दुई लाख ४१ हजार ३१० जना संक्रमित फेला परेका छन् । त्यस्तै इटालीमा दुई लाख हजार ८०१ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २८७ जनाको मृत्यु भएको थियो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ८२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने दुई हजार ९६९ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा ३० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा २५१ जनाको मृत्यु भइसकेको छ ।

राजधानी दिल्लीमा पनि २७ हजारभन्दा धेरै मानिसमा कोराना भाइरसको संक्रमण देखिएको छ भने ७६१ जनाको मृत्यु भइसकेको छ ।

सातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल त्यो १० हजारको करिब पुगेको छ ।