स्वतन्त्रता दिवसको शुभकामना भारत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वतन्त्रता दिवसको शुभकामना भारत



दिवाकर पाण्डे 

चिल्ला अनि फराकिला रोड, गगन चुम्बी महल अनि पार्क र हरियालीले ढाकेको दिल्ली सहर, आफैमा विशाल छ नै । झनै दिल्लीमा पाहिला राख्ने हर कोही नेपाली नेता देखि रैती सम्म सबैले क्या विकास गरिसक्यो इण्डियाले, हामी जहाँको तहीं छौँ भनेर झन् यसको भाउ बढाइदिएकै हुन्छन् । दिल्ली, राजधानी, भारतको अनुहार हो, तर अनुहार हेरेर पुरै शरीरको मूल्याङ्कन गर्ने पुरानै प्रवृत्तिबाट हामी अझै निस्केको छैन म र भन्छौँ “वाह दिल्ली, कहिले हुने हाम्रो नेपाल यस्तो?” तर देखे जस्तो अनि सोचेजस्तो विकसित भने अझै छैन, दिल्ली । पुरै भारतको त कुरै नगरौँ !

सडकहरू फराकिला छन् तर मान्छेको मनहरू साँगुरो छ । माथितिर हेर्दा टोपी खस्ने भवन त छन् साथमा टन्न झुपडी बस्तीहरू पनि छन् । यमुनामा बाढी आउँदा सडकको फ़ुट्पातमा पाल टाँगेर बस्नेहरूको सङ्ख्या आज पनि प्रशस्तै छ । यी तिनै हुन् जो यमुना किनारमा झुपडी बस्तीमा बस्छन् । तिनीहरू सहरमा भन्दा पनि बगरमै सीमित छन् । टोपी झर्ने अग्ला बिल्डिंगहरुमा अझै पनि तिनैको प्रभुत्व छ, जसको पहिले देखि ठुला महलहरू थिए । चिल्ला रोड अनि गगन चुम्बी महल विकास नामको मिठो झुट हो ।

बहत्तरौं स्वतन्त्रता दिवसको सँघारमा भारत छ तर यो मुलुक अझै स्वतन्त्र छैन । झट्ट हेर्दा लाग्छ, अंग्रेजहरुबाट पुँजीपतिमा स्थानान्तरण भएको छ साम्राज्य र तिनिहरुनै एकनासले कब्जा गर्दै छन् स्रोत र साधन । उद्योग र कलकारखानामा धेरै अगि बढे पनि सीमित धनीहरूले मात्र सम्पत्तिमाथि आफ्नो प्रभुत्वता कायम गर्दै अगि बढिरहेका छन् ।

गरिबहरूको सम्पत्तिमा अझै पहुँच छैन र सरकार पनि गरिब मैत्री नभएको महसुस हुन्छ । जबसम्म पुँजीपति कल्याणकारी राज्यबाट लोक कल्याणकारी राज्य बन्दैन भारत, तबसम्म स्वतन्त्रता दिवसहरू पत्रिका र किताबका पानाहरू अनि टेलिभिजनका भिडियोमै मात्र रमाइला लाग्छन् ।

आज पनि भारतको ठुलो युवा जनशक्ति देश बाहिर काम गर्दै छ र सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने देशहरूको लिस्टमा नम्बर एकमा छ । विश्व भरि नै भारतीयहरूको उपस्थिति त छ, तर देश भित्रै भने अवसरको अभाव छ। स्रोत र साधनको समुचित स्वामित्व आम जनतामा स्थानान्तरण नहोउन्जेल युवाहरूको विदेश आकर्षण कम हुने देखिँदैन ।

दूर-दराज भारतमा भोकमरीले आज पनि मान्छे मर्ने कटु सत्य हो। धनीहरू र गरिबहरूको बढ्दो खाडल भयानक छ । धर्म र जातका नाममा अझै पनि मान्छेहरू एक आपसमा लड्दै छन् । बढ्दो जनसङ्ख्या नियन्त्रण आफैमा जटिल छ । जुनदिन यी सबै समस्यामाथि विजय प्राप्त गर्छ, त्यही दिन भारत सही मानेमा स्वतन्त्र हुनेछ । अहिलेलाई भने जुन हालमा छ उही हालमा “बहत्तरौं स्वतन्त्रता दिवसको शुभकामना, भारत !”

(लेखक नयाँ दिल्लीको लक्ष्मीनगरमा सिए फाईनल अध्यानरत छन्  भने नेविसंघ भारतको केन्द्रीय सहमहामन्त्री हुन् )