भारतलाई हराउन पाकिस्तानको यस्तो छ रणनीति - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

भारतलाई हराउन पाकिस्तानको यस्तो छ रणनीति



टाउन्टन — पाकिस्तानी कप्तान सरफराज अहमदले विश्वकपमा आइतबार पुरानो प्रतिद्वन्द्वी भारतको ओल्ड ट्राफोर्डमा हुने खेलमा सामना गर्दा टिमको फिल्डिङमा सुधार अत्यावश्यक रहेको बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध बेहोरेको ४१ रनको हारमा पाकिस्तानको फिल्डिङ कमजोर रहेको थियो । त्यस क्रममा टिमले तीन क्याच छाडेको थियो ।

‘हामीसँग फिल्डिङमा सुधार गर्नु बाहेक अब अर्को विकल्प छैन,’ सरफराजले भने, ‘अस्ट्रेलियाविरुद्धको खेलमा हारको निर्णायक कारण फिल्डिङ नै रह्यो । भारतविरुद्ध पनि राम्रो गर्ने हो भने हाम्रो तीनै क्षेत्रको प्रदर्शन राम्रो हुनुपर्छ, अझ विशेषतः फिल्डिङ माथिल्लो दर्जाका हुनुपर्छ ।’

सन् १९९२ यता पाकिस्तानले विश्वकपमा भारतलाई ६ विश्वकप संस्करणमा हराउन सकेको छैन । टस जितेर अस्ट्रेलियाविरुद्ध पहिले फिल्डिङ रोजेर राम्रो सुरुक्षात लिए पनि कमजोर फिल्डिङका कारण खेलमाथि नियन्त्रण गुमाएको थियो । असिफ अलीले आरोन फिन्चको क्याच सुरुमै छाडे । पेसम्यान वाहब रियाजको बलिङ गुमाएको बेला अस्ट्रेलियाली कप्तान फिन्च २६ रन बनाएर खेलिरहेका थिए । टिमको स्कोर ६७ रनमात्र थियो ।

तर त्यसयता ८२ रन बनाएका फिन्च र १ सय ७ रन बनाएका डेविड वार्नरले पहिलो विकेटमा १ सय ४६ रनको साझेदारी गरे । मोहम्मद अमिरले ३० रनमा ५ विकेट लिएपछि अस्ट्रेलिया ४९ ओभरमा ३ सय ७ रनमै सीमित रह्यो । सरफराजले अस्ट्रेलियाविरुद्ध आफ्नो टिमले धेरै भूल गरेको पनि माने ।

अब पाकिस्तानको ४ खेलबाट ३ भएको छ । ‘हामीले वास्तवमै धेरै भूल गर्‍यौं । हामीले टस जितेर पहिले बलिङको निर्णय त गर्‍यौं, तर हाम्रो बलिङ धारिलो रहेन । अब भारतविरुद्धको खेलमा हामीले ती सबै भूललाई सच्याउनु नै पर्छ । भारत निकै बलियो टिम हो, त्यसैले हामीले बलियो योजना बनाएर खेल्नुपर्ने हुन्छ ।’ एजेन्सी