भारत–पाकिस्तान युद्धले नेपालमा सुरक्षा थ्रेट, कस्तो प्रहरीको तयारी ?
भारत–पाकिस्तानबीच तनाव बढिरहेका बेला नेपालका एयरपोर्ट र नाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दुईदेशबीच युद्धको अवस्था सिर्जना भएसँगै नेपाल प्रहरीले विशेष सुरक्षा सर्तकता अपनाएको हो ।
नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो ।
दुईदेशबीचमा देखिएको अचानकको तनावले नेपाललाई पनि घाटा हुने भएकाले गृहमन्त्रालयले सुरक्षासतर्कता अपनाउन तिनै तहका सुरक्षाप्रमुखलाई निर्देशन दिइसकेको स्रोतले बतायो ।
प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।
भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएको छ ।
भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो ।
बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस ए मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ । भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।