भारत र पाकिस्तानबीच युद्ध : मोदी र इमरानले दिए यस्तो निर्देशन - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

भारत र पाकिस्तानबीच युद्ध : मोदी र इमरानले दिए यस्तो निर्देशन



आफ्नो भूमिमा घुसेर भारतीय सेनाले गरेको आक्रमणको कडा जबाफ दिने तयारी पाकिस्तानी सेनाले गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ घाफुरले सेना प्रमुख जनरल कमर जावेद बाजवाले जवाफी कारबाहीका लागि तयार रहन निर्देशन दिएको पुष्टि गरेका छन् ।

यसका लागि एयर चीफ मार्शल मुजाहिद अनवर खान र दुई अन्य प्रमुखसँग पाक सेना प्रमुखले कुराकानी गरेका छन् । उता पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले पाकिस्तानलाई विश्वबाट अलग थलग गराउने भारतीय सपना कहिल्यै पुरा नहुने बताएका छन् ।

यही क्रममा भारतीय आक्रमणको जबाफका लागि प्रधानमन्त्री इमरान खानले मंगलबार सुरक्षापरिषद्को बैठक डाकेका छन् । तर पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले भने सोमबार मात्रै शान्तिका लागि भारत-पाकिस्तान दुवैसँग अपिल पनि गरेका थिए ।

१४ फेब्रुअरीमा पुलवामामा भएको चरमपन्थी हमलाका क्रममा ४२ जना भारतीय अर्धसैनिक बलका जवान मारिएका थिए । यो हमलाको जिम्मेवारी जैस-ए-मोहम्मदले लिएको थियो । जसलाई भारतले पाकिस्तानमा रहेर आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिनअघि यदि जैस ए मोहम्मदले आक्रमण गरेको पुष्टि भएमा आफूहरु कारबाहीका लागि तयार रहेको बताएका थिए । उनले यदि यही बहानामा भारतले हमला गरेमा त्यसको कडा जबाफ दिन आफूहरु तयार रहेको उल्लेख गरेका थिए । त्यसपछि पाकिस्तानी सेना प्रमुखले एक पत्रकार सम्मेलनमा भारतले नै आतंकवादलाई बढावा दिएको बताएका थिए ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले यदि भारतले कुनै किसिमको दुस्साहस गरेमा पाकिस्तानले त्यसको कडा जवाफ दिने दाबी गरेका छन् । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग भिड्नका लागि सेनालाई खुल्ला छुट दिएको बताइसकेका छन् ।

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतले पुलवामा हमलापछि पाकिस्तानविरुद्ध कुटनीतिक युद्ध छेडेको बताएका छन् ।