अस्ट्रेलिया भारतसँग पराजित : भारतको उत्कृष्ट प्रदर्शन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अस्ट्रेलिया भारतसँग पराजित : भारतको उत्कृष्ट प्रदर्शन



एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

लण्डनको आइतबार भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो ।

केनिङटन ओभलमा भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे ।

यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए ।

भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३/३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो ।

भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए ।

यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।

हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए ।

अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले एक एक विकेट लिए ।

जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो ।

अष्ट्रेलियाको यो पहिलो हार हो । अष्ट्रेलियाको ३ खेलबाट ४ अंक रहेको छ ।  अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।