ईमरान खानको मोदीलाई यस्तो प्रस्ताव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ईमरान खानको मोदीलाई यस्तो प्रस्ताव



एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग फेरि एक पटक वार्ताको प्रस्ताव गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै उनले काश्मीर मुद्दा लगायत सबै विवादित विषयमा सहमति खोज्न वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शुक्रवार पठाइएको पत्रमा काश्मीर लगायतका सबै मुद्दामा समाधान खोज्न वार्ताको आग्रह गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले लेखेका छन्, ‘दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त गर्ने एक मात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर अगाडी बढ्नुको विकल्प छैन । म काश्मीर लगायत सबै समस्याको समाधानको उपाय संवादको माध्यमबाट खोज्न प्रस्ताव गर्दछु ।’

पत्रमा पाकिस्तानी प्रधानमन्त्रीले वार्ता र संवादका लागि पाकिस्तान तयार रहेको बताइएको छ । खानले दुवै देशका नागरिक शान्तिका पक्षमा रहेको उल्लेख गर्दै मोदीलाई दोस्रो पटक बधाई समेत दिएका छन् । उनले यसअघि पनि मोदीलाई चुनावी नतिजासँगै बधाई दिएका थिए । दुई देशबीच फेब्रुअरी १४ मा पुलवामा बिद्रोहीको आक्रमणपछि सम्बन्ध राम्रो छैन ।

पुलवामा घटनापछि पाकिस्तानले भारतीय लडाकु विमान खसालेको थियो भने पाइलटलाई ससम्मान रिहा गरेको थियो । तर भारतले पाकिस्तानका हरेक प्रस्ताव नकार्दै आएको छ । त्यति मात्र होइन पाकिस्तानलाई एक्लाउनका लागि भारतले मोदीको शपथ ग्रहण स समारोहमा समेत बिमस्टेक सदस्य राष्ट्रलाई मात्र निमन्त्रणा गरिएको थियो ।

त्यस्तै पाकिस्तानी विदेश मन्त्रीले भारतीय समकक्षीलाई पत्र लेखेर वार्ता र संवादका लागि औपचारिक आग्रह गरेका छन् । पाकिस्तान विदेश मन्त्री एसएम कुरैंसीले भारतीय विदेश मन्त्री एस जयशंकरलाई पत्र लेखेर वार्ता र संवादबाट समस्या समाधानका लागि आग्रह गरेका अन्तर्राष्ट्रिय स सञ्चार माध्यमले जनाएका छन् ।