झन् बिग्रियो मोदी र इमरानको सम्बन्ध : भेट्न पनि मानेनन् - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

झन् बिग्रियो मोदी र इमरानको सम्बन्ध : भेट्न पनि मानेनन्



नयाँ दिल्ली : संघाई कर्पोरेसन अर्गनाइजेशन (एससीओ) सम्मेलन १३-१४ जुनमा किर्गिस्तानको राजधानी बिस्केकमा हुँदैछ। यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि भाग लिँदैछन्। भारतीय विदेश मन्त्रालयले बिहीबार यो सम्मेलनका क्रममा मोदीले इमरानलाई नभेट्ने प्रस्ट पारेको छ।

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले मोदी र इमरानबीच हुने भनिएको भेटवार्ताबारेमा विदेश मन्त्रालयलाई कुनै किसिमको जानकारी नभएको बताएका छन्।

पाक विदेश सचिव सोहेल महमुदको भारत भ्रमणलाई पूर्णत निजी भनेका छन्। उनीसँग पनि कुनै किसिमको बैठक नभएको उनले जानकारी दिए। सोहेल बुधबार दिल्ली आएर इदको अवसरमा जामा मस्जिदमा नमाज पनि पढे। उनको यस भ्रमणले मोदी-इमरान भेट हुने अड्कल काटिएको थियो।

इमरान खान पछिल्लो साल अगस्टमा पाकका प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनको मोदीसँग भेटवार्ता भएको छैन। इमरानले मोदीलाई दोस्रो पटक प्रधानमन्त्री भएकोमा बधाई दिएका थिए। यी दुई नेताबीच अन्तिम पटक सन् २०१५ मा भेट भएको थियो।

जनवरी २०१६ मा पठानकोट एयरवेश हमलापछि भारतले पाकिस्तानसँग कुनै किसिमको सम्वादमा सहभागी नहुने अडान राख्दै आएको छ। त्यसपछि सन् २०१९ मा पुलवामा हमला र भारतको एयरस्ट्राइकपछि दुवै देशबीच तनाव चुलिँदैछ। भारतले आतंकवाद नसकिउन्जेल वार्ता असम्भव हुने जनाउँदै आएको छ ।