इमरान खानले दिए भारत बिरुद्ध कडा अभिव्यक्ति

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’ बाट ग्रसित भएको आरोप लगाएका छन् । प्रधानमन्त्री खानले फाइन्यान्शल टाइम्सलाई दिएको अन्तर्वार्ताका क्रममा भारत निर्वाचनको तयारीमा रहेकाले उसले पुनः केही गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
गत महिना भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला खानले शान्तिका लागि वार्ताको आह्वान गरेका थिए । १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पुलवामामा भएको आत्मघाती विस्फोटनमा कम्तीमा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानी भूमिमा पाकिस्तानभित्रै प्रवेश गरेर हवाई हमला गरेको थियो । पाकिस्तानले पनि त्यसको प्रतिवाद गर्दै भारतीय क्षेत्रमा हवाई हमला गरेको थियो ।
खानले भारतमा निर्वाचन सम्पन्न नहुन्जेल आफू चिन्तित रहने बताएका छन् । भारतले गरेको हवाई आक्रमणलाई इंगित गर्दै उनले भने, ‘मलाई फेरि केही हुन्छ कि जस्तो लागेको छ ।’ सन् १९४७ मा बेलायती शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान विभाजित भएर दुई राष्ट्र बनेका हुन् ।
तर दुई परमाणुशक्तिबीच सम्बन्ध राम्रो छैन । उनीहरू दुवैले काश्मिर आफ्नो भएको दाबी गर्ने गरेका छन् । काश्मिरको विषयलाई लिएर दुई देशबीच पटक पटक युद्ध गरेका छन् ।
फाइन्यान्शल टाइम्समा प्रकाशित अन्तर्वार्तामा खानले भनेका छन्, ‘पुलवामामा आत्मघाती आक्रमण हुँदा मलाई मोदी सरकारले युद्धोन्मादलाई प्रोत्साहन गर्ला भन्ने लागेको थियो ।’
उनले अहिले पाकिस्तानसँग भारतले गरिरहेको व्यवहार निर्वाचन जित्नका लागि गरिएका गतिविधि भएको भारतीयले नै बुझ्नुपर्ने बताएका छन् । आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध नभएको भनाइ उनले दोहो¥याएका छन् ।
गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानमा विभिन्न आतंककारी संगठनविरुद्ध कारबाही गर्न थालेका थिए । उनले नयाँ पाकिस्तानमा आतंकवादीहरूलाई कुनै स्थान नभएको बताएका छन् ।
पाकिस्तानको अर्थव्यवस्थालाई फेरि सही बाटोमा ल्याउने र आफ्नो देशलाई चीनको ‘ग्राहक’ हुन नदिने पनि उनले बताएका छन् ।

