इमरानको अर्को राम्रो कदम : ३ सय ६० भारतीय कैदीलाई रिहा गर्दै - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

इमरानको अर्को राम्रो कदम : ३ सय ६० भारतीय कैदीलाई रिहा गर्दै



एजेन्सी – पाकिस्तानले भारतसँगको सम्बन्ध सुधार गर्नका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई जेलमुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ ।

गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । त्यस विस्फोटमा परि ४० सुरक्षाकर्मीको ज्यान गएको थियो ।

भारतले पनि जवाफी कारबाहीस्वरुप १३ दिनपछि आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले एक भारतीय लडाकू विमान खसालेको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई पाकिस्तानले रिहा गरेको थियो ।

‘पाकिस्तानले सजाय पूरा गरेका ३ सय ५५ माझी र ५ नागरिक गरी ३ सय ६० भारतीय कैदीबन्दीलाई रिहा गर्ने फैसला गरेको छ’, पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलले बताए । उनले कैदीबन्दीलाई चार समूह गरेर रिहा गर्ने बताएका छन्, जुन प्रक्रिया अप्रिल ८ बाट सुरु हुनेछ ।

यी दुई पक्षबीच खराब सम्बन्धका कारण जेलमा सजाय पूरा गरेका धेरै कैदीबन्दी पनि जेलमा नै रहेका थिए । जनवरीमा यी दुई पक्षलाई दिएको सूची अनुसार, भारतीय जेलमा ३ सय ४७ पाकिस्तानी कैदी रहेका छन्, जसमा प्रवक्ताले २४९ साधारण नागरिक र ९८ माझीको रुपमा रहेको उल्लेख गरेका छन् । पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन्, जसमा ४ सय ८३ माझी रहेका छन् ।