इमरान खानले भने : म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

इमरान खानले भने : म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन्।

पछिल्लो समय भारतले पाकिस्तानमा बम खसालेपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो।

पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको बमवारीपछि पाकिस्तानले पनि भारत प्रशासित कस्मिर जवाफी हवाइ हमला गरेको थियो।

त्यसपछि भएको भीडन्तमा पाकिस्तानले एक जना भारतीय सेनाका पाइलटमा नियन्त्रणमा लिएको थियो।

फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि सुरू भएको यी दुई परमाणु राष्ट्रको तनाव पाइलट अभिन्नदन वर्तमान पाकिस्तानी नियन्त्रणमा परेपछि झनै चुलिने अनुमान गरिएको थियो।

आमअनुमान विपरित पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेत स्वरूप आफ्नो सेनाको नियन्त्रणमा रहेका पाइलट भारतलाई बुझाइदिएका थिए।

त्यसपछि कतिपयले उनको तारिफ गर्दै यस वर्षको नोबेल शान्ति पुरस्कार इमरानले पाउनु पर्ने आवाज उठाएका थिए। आफ्ना प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार दिलाउन पाकिस्तानीहरूले अनलाइन अभियान नै चलाएका थिए।

सोमबार ट्वीट गर्दै इमरानले आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने खालको काम नगरेको बताएका छन्।

उनले लेखेका छन्- म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन। जसले कस्मिर जनताको इच्छाअनुसार त्यहाँको विवाद समाधान गरेर यो क्षेत्रमा शान्ति र मानव विकासको मार्ग प्रशस्त गर्ने मान्छे नै नोबेल शान्ति पुरस्कारको हकदार हुन्छ।