संवैधानिक इजलासमा आजपनि बहस हुँदै: न्यायाधीश श्रेष्ठले के गर्लान ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

संवैधानिक इजलासमा आजपनि बहस हुँदै: न्यायाधीश श्रेष्ठले के गर्लान ?



काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजपनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार इजलासमा विवाद भएपछि हेर्दाहेर्दैमा राखिएको सुनुवाई आज हुने भएको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समेटेर संवैधानिक इजलास गठन गरी सुनुवाई सुरू गरेका थिए ।

शुक्रबार नै गठन भएको इजलासमा मुद्दाको सुनुवाइ गर्नेक्रममा जबराले गठन गरेको संवैधानिक इजलासमाथि कानुन कानुन व्यवसायीले प्रश्न उठाएका थिए । इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठमाथि कानुन व्यवसायी गोविन्द बन्दीले प्रश्न उठाएपछि सुनुवाई रोकिएको थियो।

न्यायाधीश कुमार रेग्मीसँग मिलेर तत्कालीन नेकपाको एकता भंग हुने तथा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको आरोप बमकुमार श्रेष्ठमाथि लाग्दै आएको छ ।

मन्त्रिपरिषद्को यही जेठ ७ गतेको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गते गरेको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्न माग ती निवेदनमा गरिएको छ।