ईश्वर पोखरेलले भने: 'कोहि निस्किदैमा एमाले समाप्त हुनेछैन’ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ईश्वर पोखरेलले भने: ‘कोहि निस्किदैमा एमाले समाप्त हुनेछैन’



काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले विभाजनलाई अदृश्य शक्तिको चाहना पुरा गर्ने कुत्सित मानसिकता भनेका छन् । उनले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् ।

उनले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गरेका छन् ।नेता माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पोखरेलले सो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ ।’

धैर्यता नगुमाउन एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गर्दै पोखरेलले भनेका छन्, ‘यो गतिशील पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुने छैन ।’

नेता नेपालले आफ्नो नेतृत्वमा एमाले समाजवादी दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । एमाले समाजवादीमा ५८ जना केन्द्रीय सदस्य छन् । निर्वाचन आयोगले दल दर्ताको लगि निवेदन परेको ३५ दिनभित्र निर्णय दिनुपर्ने भएपनि १५ दिन भित्रै दलले मान्यता पाउने/नपाउने भन्ने विषयमा निर्णय गर्ने गरी आन्तरिक काम अगाडि बढाएको छ ।