आइजिपिले भने: प्रहरीको क्रियाकलाप ठिक भएन, सुध्रिनुस वा छाड्न तयार हुनुस - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आइजिपिले भने: प्रहरीको क्रियाकलाप ठिक भएन, सुध्रिनुस वा छाड्न तयार हुनुस



काठमाडौं– अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् ।

दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी १ लाख घुस रकम सहित पक्राउ परेपछी उपत्यकामा कार्यरत परिसर देखी बिट इन्चार्ज सम्मका प्रहरी कर्मचारीलाई आईतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीएको बताएका छन् ।

आईतबार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित ब्रिफिङमा कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रीएको उल्लेख गर्दैै उनले भने, ‘बेला–बेला संझाउँदा पनी परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ ।’

करिब १ घण्टा लामो ब्रिफिङ गरेका आईजिपी खनालले संझाउँदा नमान्ने प्रहरी कर्मचारीलाई बर्दिको दैनिकीबाट बिदा हुनका लागी तयार रहन चेतावनी दिए ।

‘पुलिसको क्रियाकलाप असह्य भएको छ, सुधार्नुस्’ खनालको भनाई उदृत गर्दैै एक सिनीयर अफिसरले भने, ‘संझाउँदा नमान्ने हो भने जागिर छाड्न तयार हुनुस्, अर्को आउँछ ।’

पछिल्लो समय बिग्रीएको प्रहरीको इमेज राम्रा काम गरेर सुधार्नुपर्ने उल्लेख गर्दै खनालले नालायक अफिसरहरुका कारण संगठन बद्नाम भएको बताएका छन् ।

‘बोली, बचन र आचरण सुधार्नुस’ विशेषगरी उपत्यकाका कमाण्डरहरुलाई निर्देशन दिँदै उनले भने, ‘मातहतलाई ग्रिपमा राखेर सेल्फ–करेक्सन हुनुस्, अर्को विकल्प छैन् ।’