सर्वेन्द्र खनाल आईजीपी बन्ने !
जब आइजीपीको अवकाश हुने समय आउँछ तब देशमा अनेकन खाले खेल सुरु हुन्छन । गत वर्ष, त्यो भन्दा पहिला सधै केहि न केहि गह्रुङ्गो कम हुन्छ जुन देश र जनताले पचाउन सक्दैनन् ।
केही हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकाश पाउने भएपछि नयाँ आईजीपीको दौड सुरु भएको छ ।
आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको बताइएको छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।
अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको खुलेको हो ।
गृहमन्त्री थापा अध्यक्ष प्रचण्डको चाहना अनुसार नै चल्ने पक्षमा छन् । उनले आफू निकटका नेताहरुसँग पनि यो कुराको खुलासा गरिसकेका छन् । स्रोतका अनुसार प्रहरीको कमाण्ड गर्न तयारी अवस्थामा रहन डिआईजी खनाललाई आग्रह गरिसकेका छन् ।
तर, आईजीपी बन्ने दौडमा अरु डिआईजीहरु क्रमशः रमेश खरेल, पुष्कर कार्कीलगायत छन् । यिनीहरुमध्ये कार्कीले आफ्नो पक्षमा विशेष लविङ् गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब थेग्न नसकेर कार्कीको पक्षमा निर्णय गर्न लागेको सूचना पाएपछि प्रचण्डले आज ओलीलाई भेटेर कडा कडा रुपमा प्रस्तुत बनेको खबर छ ।
३० वर्षे सेवा हदका कारण आईजीपी अर्यालले चैत्र २८ गते सेवाबाट निवृत्त हुँदैछन् ।