गृहमन्त्री र आईजीपीले के भनेर वीरेन्द्र केसी ‘ब्याक’ भए ?
दुई दिनअघि आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेर राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिन समितिमा फर्किएका छन् ।
बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले गृह मन्त्रालयको र आफ्नो उद्देश्य निर्मलालाई न्याय दिने भएकाले स्वेच्छाले काममा फर्किएको बताए ।
यसअघि उनले छानबिनको क्रममा आफूले गरेका अनुसन्धानका कारण शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थासँग जीवन रक्षाको अपिल गरेका थिए ।
‘समय थप्दा एकातिर अभियुक्त थुनामा राख्ने म्याद सकिन्छ अर्कातिर डिएनए परीक्षणको रिपोर्ट पनि जटिल हुन्छ भन्ने मेरो कुरा हो, तर पनि समय थपियो,’ केसीले भनेका थिए, ‘म्याद थप्दा दुर्घटना हुने र अपराधी उम्कन सक्ने कुरा बारम्बार राखे पनि त्यसको सुनुवाइ नभएपछि समितिबाट अलग भएँ ।’
उनले समितिमा बसेर प्रतिवेदन तयार पार्दा झन् ठूलो सुरक्षा खतरा हुने देखिएकाले अलग भएको बताएका थिए । तर आफूलाई कोबाट सुरक्षा खतरा छ भन्ने खुलाएनन् । आज काममा फर्कँदा भने उनले त्यो सुरक्षा खतराबारे केही बताएनन् ।
गृहमन्त्री रामबहादुर थापा (बादल) र र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग आज विहान २ घण्टा छलफल गरेपछि उनले राजीनामा फिर्ता लिएका छन् । गृहमन्त्री बादल र आईजीपी खनालले केसीको सुरक्षा जिम्मा लिएका कारण उनी फर्किएको स्रोतको दाबी छ । निर्मला हत्या काण्डमा सरकारको पूर्ण सहयोग रहने सुनिश्चित भएपछि उनी फर्किका हुन् ।