नाइजेरिया र आइसल्याण्डको खेलले अर्जेन्टिना छनौटमा जाने - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नाइजेरिया र आइसल्याण्डको खेलले अर्जेन्टिना छनौटमा जाने



विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह डी अन्तर्गतको खेलमा नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई हराएको छ ।

पहिलो खेलमा बलियो टिम अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको हो । यो खेलमा नाइजेरियालाई जिताउन दुवै गोल अहमद मुसाले गरे ।

पहिलो हाफमा गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । मुसाले ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनैले ७५ औँ मिनेटमा अर्को सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे ।

आइसल्याण्डले त्यसपछि खेलमा फर्किने मौका पाएको थियो । ८२ औँ मिनेटमा पाएको पेनाल्टीमा आइसल्याण्डका गिल्फी सिगुर्डसनले गोल गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी बल बार भन्दा माथिबाट गयो ।

नाइजेरियाका टिरोन्नी इबुएहीले आइसल्याण्डका अल्फ्रेड फिन्बोगासनलाई फउल गरेपछि आइसल्याण्डले पेनाल्टी पाएको हो । यो पेनाल्टीको निर्णय गर्नका लागि रेफ्री म्याथ्यु कोग्नरले भिएआरको सहायता लिएका थिए ।

यो पेनाल्टी मिस गर्ने त्यहि टिम हो, जसले पहिलो खेलमा स्टार स्ट्राइकर अर्जेन्टिनाका लियोनल मेस्सीको पेनाल्टीमा गोल हुन दिएको थिएन ।

पहिलो खेलमा बराबरी गरेको आइसल्याण्ड दोस्रो खेलमा पराजित भयो । तर पहिलो खेलमा कोस्टारिकासँग २-० ले हारेको नाइजेरिया यसमा २-० ले नै विजयी भयो ।

यसअघि कोस्टारिकाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यो हारले अर्जेन्टिनाको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । तर आइसल्याण्डमाथि नाइजेरियाको जितले उसको सम्भावना केही बाँकी रहेको देखिएको छ ।

अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्नेछ । यो खेलमा जित निकालेमा र गोल अन्तर धेरै राख्न सकेमा अर्जेन्टिना अघिल्लो चरण जान सक्नेछ ।

यस्तै आइसल्याण्डले अब क्रोएसियाको सामना गर्नेछ । यो समूहमा क्रोसियाको ६ तथा नाइजेरियाको ३ अंक भएको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक एक अंक मात्रै छ ।