हुम्लाको तापक्रम माइनस १२ डिग्री, बाक्लो हिमपातले घरबाटै निस्कन सकेनन् स्थानीय
सिमकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ ।
यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए ।
उनले भने, “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेको छ ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएको छ ।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । रासस