हुलाकी सडक निर्माण बारे मन्त्री बिना मगरको चासो तिव्रगतीमा सडक निर्माण गर्न निर्देशन - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

हुलाकी सडक निर्माण बारे मन्त्री बिना मगरको चासो तिव्रगतीमा सडक निर्माण गर्न निर्देशन



हेमन्त न्यौपाने

कञ्चनपुर । सात नम्बर प्रदेशका दुई जिल्ला कञ्चनपुर–कैलालीको सदरमुकाम जोड्ने हुलाकी मार्ग निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीबारे चासो राख्दै खानेपानी मन्त्री बीना मगरले हुलाकी सडकको ठेक्का पाएका निर्माण व्यावसायीहरुलाई भेटेर जनतालाई सास्ती नहुने गरी तीव्रगतिमा काम गर्न निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्री मगरले डोकेबजार–बेलौरी–बेल्डाडी–दैजी हुलाकी सडकखण्डका ठेकेदारहरुसंग भेट्दै सडक निर्माणमा भईरहेको ढिलाई, धुलाम्मे सडक, गुणस्तर, मापदण्ड, चुनौतीबारे छलफल गर्दै सुधार गर्नुपर्ने र थप्नुपर्ने संरचना बारे समेत जानकारी लिनुभयो । निर्माण व्यावसायीहरुले मन्त्री मगरलाई आगामी असारसम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने जानकारी गराए । ‘तोकिएको समयमै काम सक्ने गरि काम भइरहेको छ’, डोकेबजार-बेलौरी र बेलडाँडी- दैजी सडक खण्डको निर्माण कम्पनी शर्मा जेबीका इन्जिनियर रोशन भट्टले भने । छलफलमा बेलौरी- बेलडाँडी सडकखण्डको निर्माण गरिरहेको निर्माण कम्पनी बाबाहंशका प्रतिनिधिले बजेटको समस्या र निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो गरेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी आफ्नो भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै आयोजना इन्जिनियर नरेन्द्र ओझाले निर्माण कार्यप्रति व्यापक गुनासाहरु आएतापनी काम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले सडक निर्माणको काम निरन्तर भईरहेकाले सबै तिरबाट सहयोगी वातावरण बने समयमै योजना पुरा गर्न सकिने बताउनुभयो । पहिलो खण्डमा पर्ने दोदा नदि देखि सिम्री सम्मको सडकमा कालोपत्रे मात्र गरिने योजना रहेकाले पानी बग्ने तथा ढुवान हुने सो क्षेत्रमा दुबै तर्फ वाल लगाएर कालोपत्रे गरे दिगो हुने आयोजना इन्जिनियर ओझाले बताए ।

गत बर्ष माघ महिनामा तत्कालीन भौतिक पुर्वाधार मन्त्री रमेश लेखकले सडकको शिलान्यास गर्नुभएको थियो । ० किलोमिटर अर्थात डोकेबजार देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रेको ठेक्का भएको थियो । तीन खण्डमा छुट्याईएको सो सडकखण्ड निर्माणको जिम्मा बाबाहंस र शर्माजेभी निर्माण कम्पनीले पाएका छन । गुणस्तरीय मापदण्डमा निर्माण हुने भनिएको तिनवटै सडकखण्डको निर्माण अवधि ३० महिनाको रहेको छभने कुल १ अर्ब, १७ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक ७ मिटर चौडाई कालोपत्रे र दुईदुई मिटर साइड सोल्डर निर्माण गरिने छ ।

सडकको शिलान्यास भएपश्च्यात हर्षित भएका कञ्चनपुरको दक्षिणीभेग बासी सडक निर्माणमा ढिलाइ र लापरबाही भएपछि निरास बनेका छन । मन्त्री बने लगत्तै गृहजिल्ला पुग्नुभएकी खानेपानी मन्त्री मगरले मुख्यमुख्य समस्यामा केन्द्रित देखिनुभएको छ । यसैक्षेत्रबाट मन्त्री मगर भारी मतान्तरले विजयी हुनुभएको थियो ।