हुवावेलाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टम प्रयोगमा प्रतिबन्ध - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हुवावेलाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टम प्रयोगमा प्रतिबन्ध



वाशिङटन । गुगलले चीनको टेलिकम्पनी हुवावेलाई एन्ड्रोइड अपरेटिङ सिस्टमबाट रोक लगाएको छ । नयाँ हुवावे स्मार्टफोनको पनि गुगल एपमा अब पहुँच हुने छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी फर्मले लाइसेन्स नलिइकन चीनको कम्पनी हुवावेसँग व्यवहार गर्न नसक्ने नीति ल्याएपछि गुगलले पछिल्लो निर्णय गरेको हो ।

गुगलले आफ्नो वक्तव्यमा सो आदेशलाई ध्यान दिएर नीति पुनरवलोकन गरिएको जनाएको छ । यसबारेमा हुवावेले भने कुनै प्रतिक्रिया दिएको छैन । गुगलको पछिल्लो कदमको अर्थ हुवावेले सुरक्षा अपडेट र प्राविधिक सहयोग गुगलबाट पाउने छैन । नयाँ डिभाइसमा अब देखि यु ट्युव र म्याप्स जस्ता एप्स पनि हुने छैनन् । हुवावेले ओपन सोर्स लाइसेन्समार्फत एन्ड्रोइड अपरेटिङ्ग सिस्टमको भर्सन प्रयोग गर्न भने सक्नेछ ।

गएको बुधबार ट्रम्प प्रशासनले लाइसेन्सबिना अमेरिकी प्रविधिको हस्तान्तरण वा बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तै चीनको कम्पनी हुवावेलाई ‘इन्टिटी लिस्ट’मा राखेको घोषणा गरेको थियो । पछिल्लो अवस्थाले गर्दा हुवावेको लागि पश्चिमा देशको व्यापार भने अब चौपट हुने अवस्था उत्पन्न भएको छ । (बीबीसी)