माध्यमिक शिक्षा परीक्षा (SEE) कसरी राम्रो गर्ने
नेपालमा विगतदेखि हाउगुजीका रूपमा लिएको SLC परीक्षा, जसलाई आइरन गेट सम्म पनि भनियो।यद्दपी अहिले यसलाई SEE को रूपमा चिनिन्छ। यही चैत्र १० गतेबाट यो परीक्षा सातै प्रदेशमा एकसाथ सञ्चालन हुँदैछ। देश सङ्घीयतामा गएको र परीक्षा नियन्त्रण कार्यालयबाट यसको नेतृत्व राष्ट्रिय परीक्षा बोर्डमा सरेपछि अहिले यो परीक्षालाई विशेष महत्त्वका साथ हेरिएको छ।
सातै प्रदेशमा अनिवार्य छ विषयका फरक फरक समानान्तर स्तरका प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गरिदैछ। विगतमा अक्षराकंन पद्धतिका गलत बुझाई भए तापनि अहिले यसप्रति शिक्षक, अभिभावक तथा विद्धार्थी चनाखो बनेका छन् ।
खासगरि अभिभावक तथा सरोकारवाला निकायले सहरिया विद्यार्थीहरू राम्रो श्रेणीमा एसईई उत्तीर्ण गर्नुलाई मात्र शैक्षिक सफलता मान्छन् भने ग्रामीण क्षेत्रका विद्यार्थी पास हुनु नै ठुलो मान्छन् । त्यसैले पनि एसईई नजिकिँदै जाँदा अभिभावकको दबाबले वा विद्यार्थीहरू स्वयं अध्ययनमा बढी केन्द्रित हुन्छन् । परीक्षा आउने बेलामा मात्र किताब समाएर पढ्न कस्सिने विद्यार्थीमा परीक्षा नजिकिएसँगै तनाव पनि बढ्छ । त्यसैले नियमित अध्ययन गर्नेलाई परीक्षा सजिलो लाग्छ ।
नेपालको सन्दर्भमा यो परीक्षा शैक्षिक जीवनको महत्त्वपूर्ण र निर्णायक हिस्सा नै हो। यसैबाट विद्धार्थीले अब के पढ्न पाउने र के नपाउने भन्नेजस्ता आधारको पहिचान हुन्छ जसले गर्दा विद्धार्थी बढी सचेत हुनु त पर्छ नै सँगसँगै केही प्राविधिक पक्ष पनि हेर्नुपर्छ। सबै विषयलाई बराबर महत्त्व दिएर राम्रो तयारी गरेर परीक्षालाई एउटा अवसरको रूपमा उपयोग पनि गर्नुपर्छ।
अक्षराकंन पद्धति भएकोले कुनै विषयमा बढी र कुनैमा थोरै कम भए पनि अन्ततः जम्मा प्राप्ताङ्क धेरै हुन्छ भने म अगाडि नै हुन्छु भन्ने कुरा दिमागबाट हटाउनु जरुरी छ। सबै विषयको श्रेणीगत अङ्क हुनाले सबैलाई महत्त्वका साथ पढ्ने र राम्रो अङ्क ल्याउन कस्सिनुपर्छ।जतिसुकै राम्रो जिपिए आएपनि कुनै विषयमा निश्चित मानक पूरा भएन भने रोजेको विषय पढ्न पाईदैन। जस्तो की GPA ३ होला तर गणितमा C भन्दा कम आयो भने माथि गएर रोजेका विषय पढ्न पाईदैन। त्यसैले हरेक विषयलाई सँगसँगै अगाडि बढाउनुपर्छ।
परीक्षालाई एउटा नियमित प्रक्रियाको रूपमा लिने र आफूले पढेको कुरालाई सहज ढङ्गले बुझेर पढ्ने, बारम्बार अभ्यास गर्ने, नजानेका कुरा शिक्षक वा जान्ने साथीसँग सोध्ने ।
समयलाई ख्याल गरेर आफैसँग टेस्ट लिने हो भने परीक्षाको तनावबाट मुक्ति मिल्छ ।
अक्षरमा नियमित आँखा राखेर सुगारटाइ गर्नुभन्दा पहिले पाठ बुझेर पढ्ने गर्नुपर्छ।
तर केही विद्यार्थीहरू भगवान् भरोसामा जाँच दिन्छन् । जाँचमा सँगै बसेका साथीहरूको हेर्छु, वा चिट चोर्छु भन्ने भ्रममा हुन्छन् । तर, चिट चोर्ने ध्यानमा विद्यार्थीले जानेको उत्तर पनि लेख्न सक्दैन । त्यसैले ऊ असफल हुन्छ । किनकि चिटमा त सबै प्रश्नको उत्तर हुँदैन । अनि याद गरेर गएको पाठ पनि चिट चोर्ने ध्याउन्नमा बिर्सिइन्छ ।
कोर्स बुक तथा पाठ्यक्रमसँग सम्बन्धित बाहिरी पुस्तकको राम्रो अध्ययन गर्नुपर्छ।
परीक्षाको अगिल्लो दिनबाट निम्नानुसार रुटिन बनाउनुहोस्
- नियमित सन्तुलित भोजन खानुहोस् ।
- राति चाँडै सुत्ने प्रयास गर्नुहोस् जसले तपाईँ सात घण्टाको निद्रा पूरा होस् र बिहान ताजा महसुस गर्नुहोस् ।
- आफ्नो बोर्ड परीक्षाको प्रवेशपत्र, कम्पास बक्स, क्यालकुलेटर आदि राति सुत्नुभन्दा अघि नै तयार गरेर राख्नुहोस् ।
- निर्धारित समयभन्दा एक घण्टाअघि नै परीक्षाभवनमा पुग्ने प्रयास गर्नुहोस् ।
- बाटोमा वा परीक्षाभवनबाहिर केही पनि नपढ्नुहोस् । साथीहरूसँग अन्तिम समयमा आएर परीक्षाका प्रश्नहरूको बारेमा चर्चा नगर्नुस् । यसले तनाव बढाउँछ । बरु त्यसको दुई दिनअघि नै छलफल गर्नुहोस् ।
परीक्षाको अन्तिम समयमा तनावबाट जोगिनुहोस् । - पहिलादेखि बनाइएको नोट अथवा मुख्य पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकलाई नै बढीभन्दा बढी अध्ययन गर्नुपर्छ ।
- रुटिन बनाएर सबै विषयलाई दोर्होयाउनु राम्रो हुन्छ ।
- उत्तर लेख्नमा भन्दा रेखाचित्रको बढी प्रयोग गर्नुहोस् ।
- अघिल्लो वर्षको प्रश्नको आधारमा नयाँ प्रश्नउत्तरको तयारी नगर्नुहोस् । यो वर्ष अर्कै प्रश्न आउन सक्छ । तर, प्रत्येक वर्ष पाठ्यक्रमअनुरुपकै सजिलो सजिलो प्रश्न आउँछ । त्यसैले सबै पाठलाई ध्यानपूर्वक पढ्नुहोस् ।
- अक्षराकंन पद्धति भएकोले कुनै विषयमा बढी जोड र कुनैमा कम महत्त्व नदिनुहोस्। हरेक विषयको श्रेणीगत अङ्क हुनाले त्यसकै आधारमा विषयगत प्राप्ताङ्क आउँछ।
- कुल प्राप्ताङ्क भन्दा विषयगत प्राप्ताङ्क महत्त्वपूर्ण हुन्छ भन्ने कुरा दिमागमा राखिराख्नुस्।
- अक्षर सफा, शुद्ध र लेखनसीप प्रभावशाली बनाउनुहोस्।
– सुशील खनाल, कोटेस्वर सरस्वती मा बि काठमाडौँ