काठमाडौंका होस्टेल: नराम्रा कामको अखडा ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंका होस्टेल: नराम्रा कामको अखडा !



काठमाडौं । काठमाडौंका अधिकांस होस्टेलमा गैरकानुनी धन्दा हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा सरोज लामालाई पक्राउ गरेपछि नयाँ रहस्य खुलेको छ ।

उनले आफ्नो सेवाग्राही विभिन्न होस्टलहरुमा बस्ने विद्यार्थीदेखि कलेजमा पढ्नेसम्म भएको बयान दिएपछि यस्तो खुलासा भएको हो ।

यसअघि पनि बानेश्वरका होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो आउने गरेको थियो । तर, प्रहरीले प्रमाण हात पारिसकेको थिएन ।

लामाको बयानबाट होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई हुने गरेको पुष्टि भएपछि बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्लेले नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन गरे ।

यतिमात्र होइन होस्टलका विद्यार्थीले होहल्ला गर्ने गरेको र मध्यराति आएर छरछिमकलाई समेत डिस्टर्ब गर्ने गरेको गुनासा प्रहरीमा दिनहुँ आउने गरेका छन’ ।

पछिल्ला समय होस्टलमा हुने गरेका चोरीका घटनाबारे प्रहरीमा रिपोर्ट हुने संख्या बढ्दो छ । यद्यपि, होस्टलबाट हराएका सामग्री हत्तपत्त भेटिँदैनन् ।

दिनहुँ सामान हराउने देखि विभिन्न काण्ड होस्टेलमा घट्ने गरेका छन्  । ल्यापटप, मोबाइल देखि लत्ताकपडा सम्मको सुरक्षा हुँदैन यस्ता होस्टलमा । व्यक्ति र पढाईको त कुरै छाडौं ।

जनप्रतिनिधि, होस्टल एसोसिएसन, प्रहरी लगायतको टोलीले सुरु गरेको अनुगमनका क्रममा बिहीबार प्रहरीले विद्यार्थीको कोठाबाट तास खेल्दै गरेको अवस्थामा गाँजा बरामद गरेको छ ।

होस्टेल कम धन्दाघर ज्यादा लाग्ने गरी राजधानीमा छ्याप छ्याप्ती खुलेका यस्ता होस्टेलमा बाहिर एक चिज लेखेर भित्र अर्कै हुने गरेका यस्ता थुप्रै उदाहरण छन् ।

यस्ता होस्टेलमा न त सोधपुछ गर्नलाई सुरक्षागार्ड नै हुन्छन, न त सुरक्षित नै देखिन्छन ।

प्रहरीले सुक्रबार राजधानीका विभिन्न होस्टेलको अनुगमनमा जुवाको खाल, लागुऔषध, र विभिन्न गैरकानुनि सामान फेला पारेको छ ।