सरकारी अस्पताल ‘मसानघाट’ जस्तो, निजीको तारिफ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारी अस्पताल ‘मसानघाट’ जस्तो, निजीको तारिफ !



काठमाडौं –सरकारी अस्पताललाई मसानघाटजस्तो बनाएर सरकारका प्रधानमन्त्री र मन्त्रीहरू विदेश उपचारमा जाने गरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले सदनमा विरोध जनाएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा उपभोक्ता संरक्षण विधेयकमाथि विरोधको सूचना दिने क्रममा सुवालले सरकारी अस्पताल मसानघाट जस्तो भएको बताएका हुन् ।

ʻसरकारी अस्पताल मसानघाट जस्तो छ । प्रधानमन्त्री र मन्त्रीका लागि वीरमा विशिष्ठ कक्ष छ । तर यहाँ कोही आउनुहुन्न, आएमा यो भद्रगोलको जिम्मेवारी लिनुपर्ने होला भनेर त्यहीँका कर्मचारीले भनेको सुनियो,ʼ सांसद सुवालले भने, ʻसरकारी अस्पताललाई मसानघाट जस्तो बनाएर सर्वसाधारण जनतालाई निजीमा जान बाध्य पार्ने ? अनि प्रम र मन्त्रीहरू निजी अस्पतालमा गएर अन्तर्राष्ट्रिय स्तरको उदाहरणीय र राष्ट्रको गौरव भनेर भन्न मिल्छ ?ʼ

सांसद सुवालले सरकारमा बस्नेहरू जिम्मेवारीबाट भाग्न नमिल्ने बताए । ʻवीर अस्पताल नर्क जस्तो छ । पाटन अस्पताल नर्क छ । टिचिङ नर्क छ । व्यक्तिले खोलेकोलाई गौरव भन्न नर्क भन्न मिल्छ ?ʼ उनले प्रश्न गरे ।

सांसद सुवालले उपभोक्ताहरू चौतर्फी ठगिँदा पनि सरकारले कालोबजारी गर्नेलाई कारवाही नगरेको आरोप लगाए ।

जवाफमा आपूर्ति मन्त्री मातृका यादवले सरकारले बेथितिलाई ठीक गर्ने पक्रियामा रहेको बताए । उनले  त्यसैको कडी उपभोक्तासम्बन्धी कानून संशोधन गर्न लागिएको उल्लेख गरे ।

मन्त्री यादवले सिन्डिकेट तोडिएको र बाँकी रहेको पनि तोडिने बताए । ʻफेरि सिन्डिकेटको कुरा गरेर जगाउने काम नगरौं, सबै तोडिएको छ र तोडिएको रहेनछ भने पनि तोडिन्छ,ʼ मन्त्री यादवले भने ।