किराना पसलमा धाउनु पर्दैन अब सुर्ती-चुरोट किन्न ! - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

किराना पसलमा धाउनु पर्दैन अब सुर्ती-चुरोट किन्न !



काठमाडौँ– सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ। बीहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै दर्ता र छुट्टै पसलको व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्री गगन थापाका अनुसार फागुन मसान्तभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न आन्तरिक राजस्व कार्यालयबाट सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलमा मात्र बिक्री वितरण गर्न पाइनेछ।

‘दैनिक उपयोग्य वस्तु बिक्री गर्ने पसलमा सुर्तीजन्य पदार्थ कारोबार गर्न रोक लगाइएको छ,’ मन्त्री थापाले भने, ‘खुल्लारुपमा वा अन्य पसलमा बिक्री गर्नेलाई कानुनी कारबाही हुनेछ।’

सरकारको यो निर्णयले जताततै खुला रुपमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरणमा नियन्त्रण गर्नेछ। चैत १ गतेपछि सडकपेटीमा वा एउटै किराना पसलबाट सुर्तीजन्य पदार्थ बेच्न पाइनेछैन।

सुर्तीजन्य पदार्थको कारोबारका लागि दर्ता गर्न २०७३ फागुन मसान्तभित्रको समय स्वास्थ्य मन्त्रालयले दिनेछ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन अनुसार सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था बमोजिम यस्तो निर्णय गरेको हो।

साथै, इजाजत लिएका पसलले बिक्री कक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ  नबेचिने र बेच्न नलगाइने भनी सूचना राख्नुपर्नेछ।