होङ्सी सिमेन्टको कालो धन्दा: विभागद्वारा कारबाही - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

होङ्सी सिमेन्टको कालो धन्दा: विभागद्वारा कारबाही



काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले तीन उद्योगको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तरअनुरूप नपाएपछि स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक लेखा समितिमा सिमेन्टको गुणस्तरबारे महानिर्देशक विश्वबाबु पुडासैनीलाई अनियमितताको आरोप लगाएपछि विभागले कारबाही थालेको हो ।

होङ्सी सिमेन्टलगायत तीनवटा सिमेन्ट मापदण्डअनुसार नपाएपछि विभागले स्पष्टीकरण सोधेको हो ।

होङ्सीमा इनिसियल सेटिङ आधा घन्टामा हुनुपर्नेमा नरहेको पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली, २०४० को नियम(१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।

विभागका अनुसार, वृज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपीए र आइआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलव ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार छैन । पीपीसी सिमेन्टमा विभागले आईआर २८ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशका पुडासैनीले मापदण्डअनुसार सिमेन्ट गुणस्तर नपाएका सिमेन्ट उद्योगीलाई १५ दिनभित्र जवाफ दिन निर्देशन दिएको बताए । उनले उद्योगीले १५ दिन भित्र स्पष्टीकरण नदिए कानुनबमोजिम कारबाही गरेको गर्ने बताए ।

महानिर्देशक पुडासैनीले भने, ‘आर्थिक वर्षमा ३ सय बढी नमुना लिइएको छ । अन्य सिमेन्ट उद्योगको रिर्पोट आउने क्रममा छ । मापदण्डअनुसार गुणस्तर नपाएका सबै सिमेन्ट उद्योगलाई कारबाही हुन्छ ।’

यसैगरी, महानिर्देशक पुडासैनीले नेपाल गुणस्तर तथा नापतौल विभागले ६ वटा ग्याँस उद्योग गुणस्तरअनुरूप नभएको भन्दै १५ दिने स्पष्टीकरण सोधेको बताए । ग्याँस उद्योगको आकस्मिक निरीक्षण गर्दा कैफियत भेटिएको भन्दै स्पष्टीकरण सोधेको बताए ।

महानिर्देशक पुडासैनीका अनुसार विभागले एभरेस्ट ग्याँसको संयुक्त अनुगमनको क्रममा सिलिन्डरमा हाइड्रो स्ट्याटिक टेस्ट नगरिएको, क्लिनिङ तथा ड्राइङ नभएको र टेयर वेट (खाली सिलिन्डरको) नलिएको भेटिएको छ ।

महानिर्देशक पुडासैनीले श्रीकृष्ण ग्याँसमा पर्जिङ (नयाँ सिलिन्डरको हावा फाल्ने) व्यवस्था नभएको र टेयर वेट लिने व्यवस्था नभएको भेटिएको बताए । साइबाबा ग्याँस उद्योग चितवनमा पर्जिङको व्यवस्था नभएको, टेयर वेट लिने व्यवस्था नभएको र वाटर डिप टेस्ट (सिलिन्डर डुबाउने) व्यवस्था पाइएको बताए ।