हो, म पनि राजनीतिमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हो, म पनि राजनीतिमा



-सागर भुषाल 

चिया पसल देखि भट्टी सम्म, सामान्य मजदुर देखि धांसु विद्वान सम्म, सरकारी पेसेवर देखि हाइ क्लास बिजनेसम्यान सम्म हाम्रो देशमा सबका-सब अर्थ-राजनीति, विज्ञान र मानव जगतका सम्बन्धमा आइन्सटाइन, आडमा स्मिथ, कार्ल मार्क्स, महात्मा गान्धी, सी.जिन.पिङ भन्दा कम जानकार छैनन्। मानौँ उनीहरू नै विज्ञान, दर्शन, अर्थशास्त्रका प्रणेता हुन। कोही कसैको बिचार सुन्न चहादैन, सबका-सब आफ्नो वैचारिक मूल्य मान्यतामा प्रस्ट छन्। उनीहरूको साझा निष्कर्ष छ ´नेपालको विकास नहुनुको मूल कारण राजनीति हो किनकि राजनीति भनेको फोहोरी खेल हो।` उनीहरूको अर्को निष्कर्ष पनि रहन्छ´इमान्दार मानिसहरू राजनीतिमा लाग्नु हुन्न।`मानौँ, राजनीति आफैमा फोहोरी खेल हो र यो खेल फोहोरीहरूका निम्ति मात्र सुहाउँछ।

माथिको कुरा आफैमा विरोधाभास जस्तो लाग्दैन र? एउटा दृष्टान्त जोडिहालौँ, केहिदिन अघि मात्र म अफिस बाट फर्केर रिफ्रेसमेन्टको लागि नजिकैको पार्कमा गएको थिएँ। त्यहाँ २-४ युवाहरू नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा आपसमा विमर्श गर्दै थिए, म नजिकैको बेन्चमा बसेको थिएँ। यत्तिकैमा एकले भन्यो´बाबुराम जस्तो विद्वान नेपाली राजनीतिमा सायदै होलान् `, अर्कोले भन्यो ´हो, तर उसले फट्याइँ जान्दैन त्यसैले अब उसको राजनीति सकियो`। अर्कोले थप्यो ´राजनितिमा अलिअलि फट्याइँ नजान्ने नेताको के काम? ` मानौँ, फट्याइँ बिनाको राजनीति राजनीति नै होइन। अफिसको दिनभरको बोझले म थकित थिएँ तर मलाइ त्यो थकाइले खासै गालेन जति आजका हामी युवाहरूमा रहेको मानसिकताले गाल्यो। म पनि त त्यही युवाहरूको हिस्सा हुँ। म कोठामा आएर सोच्न थालें´के राजनीति फट्याइँ नगरी सम्भव छैन त?` म यसको उत्तर खोज्ने क्रममा यो लेख लेख्दै छु।

म विद्वान पनि होइन, म कुनै विषयको ठुलो जानकार पनि होइन, म सामान्य सी.ए. अध्यनरत भर्खर २० लागेको सिकारु युवा हुँ। अलिकति नेपाली राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो समग्र प्रणाली सुधार्नु पर्छ भन्ने चेत भएको युवा अवश्य हुँ।मैले माथिको मेरो जिज्ञासा मेटाउन विश्व राजनीतिको एउटा सानो कडी बुज्ने प्रयास गरेँ। के साँच्चै राजनीति फोहोरी खेल नै हो त? वा हामीले यसलाई फोहोर बनायौँ। इमान्दारहरू के राजनीतिमा असफल मात्र हुन्छन् त? त्यसो हो भने लु क्वान यु जसले सिङ्गापुरलाई तेस्रो विश्वबाट पहिलो विश्वमा ल्याइपुर्‍याए, अब्राहम लिङ्कन, नेलसन मन्डेला, महात्मा गान्धी, कार्ल मार्क्स लगायत युग पुरुषहरू जसले विश्वलाई नयाँ आयाम दिए। के यी सबै फट्याइँ गरेर सफल भएका हुन? त्यसो गरेका होइनन् भने के यी सबै असफल हुन त? मलाइ लाग्छ उनीहरू इमान्दर थिए र त विश्वलाई नयाँ उचाइ दिए। सबैका आ-आफ्नै कमजोरी अवश्य थिए होलान् तर उनीहरू इमान्दार नभएको भए आज विश्व यो रफ्तारमा हुँदैनथ्यो, फरक यत्ति न हो कोही आफ्नो जीवनकालमा सफल भए होलान् त कोही मरणोपरान्त। कसैको सफलता र असफलता उसले प्राप्त गर्ने पद र प्रतिष्ठामा मात्र सीमित होला र? अवश्य हुँदैन।

नेपालको परिवेशमा १०४ बर्से राणा शासनले देशलाई थिलो-थिलो पर्ने गरेर गिजोल्यो। फेरि राजाको पञ्चायत हुँदै समय-समयका उनका हर्कतले देश अन्धकारमय भुमरीमा फसेकै हो। पछि जनताको उत्थानका निम्ति भनिएपनी माओवादी जनयुद्धले पनि देशको आर्थिक पाटो तहस-नहस पारेकै हो। अहिले सबै आन्दोलनका उपलब्धि स्वरूप हामी सङ्घीय गणतन्त्रात्मक देशमा प्रवेश गर्‍यौँ।यो सच्चै ऐतिहासिक सफलता हो। हाम्रा शान्ति वार्ता अनेक जनआन्दोलनहरू सच्चै विश्वलाई चकित पार्ने खालका छन्। यसमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण नेताहरूलाई म सलाम गर्न चाहन्छु। तर के यति नै हाम्रो सफलता हो त? होइन भने हामी कहाँ चुक्यौँ? यो प्रश्न नै आजका दिनमा हाम्रो निम्ति सबै भन्दा महत्त्वपूर्ण प्रश्न हो। हाम्रो गौरवपूर्ण राजनीतिक इतिहास भएपनी आर्थिक रूपमा झन्-झन् कमजोर हुँदै गयौँ। हामी एसियाका सबै भन्दा गरिब जनताहरू हौँ। यस्तो किन भयो?

आज भन्दा अलि पछि फर्केर यसको समीक्षा गरौँ:- २०४६/४७ को जनआन्दोलन भाग १को सफलता पछि नेपालमा बहुदल आयो। त्यति बेला सम्म त सत्ता राणा र राजाको हातमा थियो उनीहरू जनता प्रति उत्तरदायी थिएनन्। बहुदल आयपछि जनताको मुहारमा एउटा आशाको ज्योति फैलिएको थियो।तर दुर्भाग्य हाम्रो समस्याको मूल जरो यहीँ बाट सुरु हुन्छ, जुन आज सम्म पनि कायम छ। पञ्चायत विरुद्ध लडेका हाम्रा गौरव गर्न लायक राजनीतिक दल र तिनका नेताहरू बहुदल पछि आ-आफ्नो भान्सा स्याहर्न व्यस्त रहे जसले गर्दा पार्टी पहिलो र देश दोस्रो प्राथमिकतामा पर्‍यो। आफै भित्र पनि चुलो कसले चलाउने भन्ने विषयमा मतहरू बाझिन पुग्यो फलस्वरूप राम्रा भन्दा पनि हाम्राहरू मुख्य प्राथमिकतामा परे। त्यहाँ भित्र जननेता मदन भण्डारी, मनमोहम अधिकारी जस्ता होनहार कम्युनिस्ट नेता पनि थिए। गणेशमान, किशुन जी जस्ता त्यागी र सन्त नेता पनि थिए तर ती मध्य कतिलाई परमधाम पठाइयो त कतिलाइ राजनीति बाटै विमुख। नेपालको राजनीतिमा ´Right Man Right Place` भन्दा पनि परिवारवाद नातावाद हाबी हुन थाल्यो, जसको गतिलो उदाहरण गिरिजाकी छोरीको उपप्रम. पदलाइ लिन सकिन्छ। यसरी बिस्तारै राजनीतिले बाटो बिराउँदै गयो। बिचमा माओवादी जनयुद्ध भयो र पछि शान्ति सम्झौता पछि फेरि आन्दोलनकारी शक्तिहरू पनि त्यही गोलच्क्करमा फस्दै गए। युवाहरूका आँखामा आशा भन्दा पनि निराशाका बादलहरू मडारिन थाले।

अहिले देशमा बलियो दुई तिहाइको सरकार छ। यात्रा समाजवाद उन्मुख भनिए पनि शिक्षा, स्वास्थ्य जस्ता जटिल विषयमा तीव्र व्यापारीकरण बढ्दो छ। गोविन्द के.सी.स्वास्थ्यमा व्यापारिकरणका  विरुद्धमा अनसन बस्छन् अनि कम्युनिस्ट सरकार उनलाइ अरूबाट परिचालितको बिल्ला भिराइरहेछ। वाइड्बडी, निर्मला जस्ता काण्डहरूले थप अन्योलको स्थिति सृजना गरेको छ। हामीलाई राजनीतिक रूपमा यति बलियो बनाउने नेताहरू नै आर्थिक रूपमा हामीलाई दरिद्र बनाउँदै छन्। उनीहरू अवसरवादी हुन? होइनन्, राजाको त्यत्रो कडा शासन विरुद्ध लडेका उनीहरू कसरी अवसरवादी हुन सक्छन्?

आजको प्रश्न को नेता सही वा गलत भन्दा पनि, यो समयमा कुन र कसको एजेन्डा महत्त्वपूर्ण हो भन्ने हो। हिजो राजनीतिक अवस्था फेरेका हाम्रा नेताहरूको सम्मानमा ठेस पुर्‍याउनु पर्छ भन्ने होइन तर त्यो सम्मानको अर्थ आज पनि वहाँहरूलाई सत्ता सुम्पनु पर्छ भन्ने होइन। आजको अवस्था अर्कै छ। आजको आवश्यकता पूर्ति गर्न आजकै बिचार सुहाउँदो दर्शन, राजनीति चिन्तन शैली अनि त्यसलाई प्रतिनिधित्व गर्ने नयाँ सङ्गठन आवश्यक हुन्छ। यसको मतलब वहाँहरू बाट केही सम्भव छैन भन्ने होइन तर त्यसका निम्ति आजका युवाको आवाज सहितको प्रतिनिधित्व सुनिश्चित हुन जरुरी छ जुन ऐले वहाँहरूले देखाइरहेको कार्यशैली पुष्टि गर्दैन।तर हिजो त्यति ठुलो योगदान गर्नु भएका नेताहरूमा उही पुराना राजा महाराजाहरूको बिम्ब प्रतिबिम्बित हुँदै गइरहेको छ, यो देश र वहाँहरूकै योगदान माथिको कुठाराघात हो। इतिहासमा एक महान् पुरुषले भनेका थिए´क्रान्तिकारिहरु कालान्तरमा प्रतिक्रान्तिकारी शक्तिमा परिणत हुन्छन्।` साँच्चै त्यस्तै हो त? त्यस्तो नहोस्।

आजको आवस्यक्ता सुशासन र पार्दर्शिता सहितको आर्थिक रूपान्तरण नै हो।यसको नेतृत्व जसले गर्दा पनि हुन्छ तर एजेन्डा, बिचार र कार्यशैलीमा स्पष्टता देखिनु अपरिहार्य छ। आजका युवाहरू दलहरूको गलत हर्कतको सिकार भइरहेका छन् र यदा-कदा उनीहरू राजतन्त्र ठिक को बेठिक भन्ने विमर्शमा पनि जुटिरहेका छन्। आजको पुस्तालाई पछि फर्कने अवसर पक्कै छैन र राजनीतिबाट विमुख हुने भन्दा पनि यसमा सक्रिय सहभागिता मार्फत सङ्घीय गणतन्त्रको रक्षा गर्दै आर्थिक कायापलट गर्नुको विकल्प छैन। हो म पनि आज सम्मको इतिहासलाई गौरव गर्दै देशको आर्थिक रूपान्तरणको संवाहक बन्न वैकल्पिक राजनीतिमा लागेको हुँ। र अन्त्यमा बिग्रे मै बिग्रन्छु सप्रे सारा देश सपार्छु भन्ने आत्म विश्वासका साथ वैकल्पिक राजनीतिको पालन्पोषण गर्दै देशलाई पहिलो विश्वमा पुर्‍याउने अभिस्ट लिएर अगाडि बढ्ने बाटाहरू पहिल्याउँदै छु।