हातेमालोको दि भ्वाईस अफ एवरेष्टको १७ औँ संस्करण विमोचन
नया दिल्ली : भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहद्वारा आफ्नो वार्षिक स्मारिका “दि भ्वाईस अफ एवरेष्ट” को १७ औँ संस्करण आइतबार लक्ष्मीनगरमा एक कार्यक्रमका बिच विमोचन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावासका सांस्कृतिक प्रमुख होमनाथ लुइँटेलको उपस्थितिमा विशेष अतिथि युवा तथा प्रखर वक्ताका ,दृढ सामाजिक अभियन्ताका रूपमा चिनिने युवा नेत्री रञ्जु दर्शना, आई.सी.ए.आई. का केन्द्रीय परिषद् का सदस्य सी.ए. हंसराज चुग, कॉस्ट म्यानेजमेन्टका शिक्षक नमित अरोरा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
स्मारिकामा हातेमालोका सदस्यहरू तथा शुभ चिन्तकहरूको पेसागत, आर्थिक, स्वास्थ्य, कृषि, खेलकुद, प्रेरणादायक, सन्देशमूलक तथा साहित्य लेख रचनाहरू समेटी एक उत्कृष्ट स्मारिका १० औँ कार्यकालको गहनाका रूपमा प्रकाशन गरिएको हो।
संस्थाका सदस्य सन्देश न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रममा स्मारिका एवंम् कार्यक्रम संयोजक रोशन यादवले स्मारिका बनाउँदाका क्षणहरू सम्झँदै सबै सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै पुस्तकमा कुनै कमी कमजोरी भए औँल्याइदिन अनुरोध गरे। संयोजक यादव अनुसार युवा रचनामा हिमाली सुन्दरता, पहाडी कोमलता र तराईको सम्पन्नता मात्र होइन सुन्दरता मै अन्तर्ग्र्भित दुःख,पीडा, अनुभूति तथा कल्पनाजन्य सामाजिक यथार्थ, प्रविधि तथा कथाजन्य झाँकी, सुनौलो भविष्यका लहलहाउँदा सपना एवम् सङ्घर्षमय वर्तमानका आशा लाग्दा तरेलीहरूको सङ्ग्रह हो ‘ दि भ्वाईस अफ एभरेष्ट ’ ।
स्मारिकाको बारेमा बोल्दै प्रमुख सल्लाहकार आयुस्मा अर्यालले प्राकृतिक सुन्दरतामा रम्ने अबोध प्रौढोन्मुख उच्चस्तरका युवाका संवेगात्मक र रागात्मक प्रस्तुतिले ‘ दि भ्वाईस अफ एभरेष्ट’लाई फूलखेती नबनाएर समग्र फुलबारी नै बनाएको अभिव्यक्ति प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा भर्खरै सी.ए. आ.इ.पी.सी.सी र सी.ए. फाइनल उतिर्ण भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने १०औँ कार्यकालको लागि सहयोगी सदस्यहरूको चयन पनि गरिएको थियो। ८ औँ कार्यकालको अध्यक्ष सरोज सापकोटाले सी.ए. आ.इ.पी.सी.सी उतिर्ण विद्यार्थीहरूलाई प्रवासमा बस्दा र अगाडी को पढाइमा आउन सक्ने कठिनाइहरूप्रति मार्ग निर्देशन गरेका थिए। मनोरञ्जन को लागि नेपाली गायन र कविताहरूको वाचन गरिएको थियो।
संस्थाका अध्यक्ष सरोज सुबेदीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै हातेमालो विद्यार्थी समूह सदैव विद्यार्थी हकहितको प्रवर्धन गर्दै आएको र आगामी दिनहरूमा यसलाई निरन्तरता दिँदै अरू थुप्रै नयाँ विद्यार्थी कल्याण लक्षित कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।सञ्चालन कार्यकारी सदस्य समीर भट्टराई र सुमित सिटौलाले गरेका थिए।उक्त कार्यक्रमको सञ्चालन भने कार्यकारी सदस्य समीर भट्टराई र सुमित सिटौलाले गरेका थिए।