स्टिम सेल प्रविधिले निको भयो एचआईभी !
विश्वमा महामारी शुरु भएपछि दोस्रो पटक एचआईभी संक्रमित व्यक्ति संक्रमणमुक्त भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।
एड्सको कारक एचआइभी भाइरसबाट संक्रमित व्यक्ति पहिलो पटक निको भएको झण्डै १२ वर्षपछि यस्तो सुखद समाचार आएको हो । यो आश्चर्यजनक सफलताबाट एचआईभी संक्रमण भएका व्यक्तिको उपचार गाह्रो भए पनि असम्भव चाँहि नभएको प्रमाणित भएको अनुसन्धानकर्ताहरुको दाबी छ ।
यससम्बन्धी रिपोर्ट अनुसन्धानकर्ताहरुले नेचर नामक जर्नलमा मंगलबार प्रकाशित हुने र अमेरिकाको सियाटलमा आयोजित ‘रेट्रोभाइरसेस् एण्ड अपरचुनिस्टिक इन्फेक्सन्स्’ सम्मेलनमा केही विवरण प्रस्तुत गर्ने द न्यू योर्क टाइम्सले जनाएको छ ।
दुवै संक्रमित व्यक्तिमाथि बोन–म्यारो प्रत्यारोपण गरिएको थियो । तर, यस्तो प्रत्यारोपण एचआईभीका लागि नभई क्यान्सर उपचारका लागि थियो।
तर, बोन–म्यारो प्रत्यारोपणबाटै एचआईभीका सबै विरामी ठिक हुने अवस्था देखिंदैन ।
एचआईभीे संक्रमण नियन्त्रणका लागि अचेल शक्तिशाली औषधिहरु उपलब्ध छन्, जबकि प्रत्यारोपण जोखिमपूर्ण हुने र वर्षौंसम्म खराब असर रहने वैज्ञानिकहरु बताउँछन् । फेरि यति लामो र कठिन प्रयासपछि पनि अहिलेसम्म केवल दुई जना विरामी मात्र निको हुन सकेका छन् ।
तर, प्रतिरक्षा कोशिकाहरुलाई एचआईभी प्रतिरोध गर्नसक्ने गरी पुनर्संरचना गर्न सकियो भने यसको उपचार व्यवहारिक रुपमै सफल हुनसक्ने विशेषज्ञहरुको अनुमान छ ।
पहिलो एचआईभीमुक्त व्यक्ति तिमोथी रे ब्राउन । तस्वीरः द न्यू योर्क टाइम्स
“यसबाट एचआईभी र एड्सको उपचार सपना होइन भन्ने पुष्टि भएको छ,” नेदरल्याण्ड्स यूनिभर्सिटी मेडिकल सेन्टरकी विषाणुविद् डा. एन्नेमारी वेन्सिङ भन्छिन्, “यो यथार्थ हुँदैछ ।”
एचआईभी संक्रमणको उपचारका लागि स्टेम सेल प्रत्यारोपण सम्बन्धी अध्ययन गरिरहेका यूरोपेली वैज्ञानिकहरुको सहयोगी संस्थाकी सह–नेता हुन् वेन्सिङ । यो संस्थालाई अमेरिकन एड्स रिसर्च अर्गनाइजेसन (एएमएफएआर) ले सहयोग गरिरहेको छ ।
अनुसन्धानकर्ताहरुले अहिले एचआईभी मुक्त विरामीको नाम खुलाएका छैनन् । उनलाई ‘लण्डन पेसेन्ट’ मात्र भनिएको छ । ती विरामीले द न्यू योर्क टाइम्ससँग गरेको इमेल संवादमा आफू एचआईभी संक्रमणमुक्त भएको र यो कसरी सम्भव भयो भन्ने बारे थप अध्ययन गर्न चिकित्सकहरुलाई सहयोग गरिरहेको बताएका छन् । एचआईभीसँगै उनी क्यान्सरबाट समेत मुक्त भएका छन् ।
सन् २००७ मा ‘बर्लिन पेसेन्ट’ भनिएका रक्तक्यान्सरग्रस्त जर्मन नागरिक तिमोथी रे ब्राउन (५२)लाई पनि बोन–म्यारो प्रत्यारोपणपछि एचआईभी संक्रमणमुक्त भएका थिए। सन् २००८ मा बोस्टनमा यसबारे जानकारी दिइएको थियो । ब्राउन अहिले क्यालिफोर्नियामा बस्छन्।
–एजेन्सी