सरकारले जे भन्छ त्यसका लागि तयार छु: हितेन्द्र देव शाक्य
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले भनेको खण्डमा जहाँसुकै आफू जान तयार रहेको बताएकच छन् । उनले सरलकरले जहाँ पठाएपनि जान तयार रहेको बताएका छन् ।
बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि आफू तयार रहेको जवाफ दिएका हुन् ।
उनले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताए । उनले भने,‘मलाई अब अरु कुनै जिम्मेवारीहरु दिन सकिन्छ कि भनेर सोध्नु भएको हो । मैले चाहीँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बी, इन्जिनियरिङमा आफूमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी टेक्निसियनमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाएपनि काम गर्छु ।’
कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भएपनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्ष भन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उनले बताए । अस्पतालहरुलाई विद्युत नजाने गरी बन्दोबस्त मिलाएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको उनले स्पष्ट पारे । यसबीचमा ढल्केबर ४०० केभि सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ति ढल्केबर २२० केभि सञ्चालन गरेको, अपर तामाकोसीको कामलाई अगाडी बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लाहरुमा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत पुर्याएको उनले बताए ।
शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उनले बताए । आगामी दिनमा प्रशारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए ।