हिन्दु राज्यको पहिचान मेटेर कपटपूर्ण इसाईकरण ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हिन्दु राज्यको पहिचान मेटेर कपटपूर्ण इसाईकरण ?



-देवप्रकाश त्रिपाठी

‘२०६२/६३ को आन्दोलन शुरु हुनुभन्दा केहीअघि बेलायतबाट नेपालका तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई एउटा चेतावनीपत्र आएको थियो र, पत्रमा राजामाथि इसाईधर्मीहरूप्रति असहिष्णु बनेको, उनीहरूलाई यातना दिने तथा सताउने गरेको भन्नेजस्ता आरोपहरू लगाइएको थियो । बेलायतबाट तात्कालिक राजालाई चेतावनीपत्र लेखाउने काम गोर्खातिरका कुनै रामशरण नेपाली नामक एक इसाई पादरीबाट भएको थियो ।

बेलायतकी महारानीसमक्ष ‘नेपालका राजाबाट इसाई धर्मावलम्बीहरूलाई दुःख दिने र सताउने कार्य भएको’ भन्ने व्यहोराको निवेदन पारेपछि बेलायतबाट तात्कालिक राजा ज्ञानेन्द्रलाई चेतावनीपत्र आएको थियो ।
२०६३ को वैशाखमा राजाबाट संसद् पुनर्स्थापनाको घोषणा भएलगत्तै पृथ्वीनारायण शाहको सालिक ढालियो । उक्त घटनालाई त्यतिबेला राजा ज्ञानेन्द्रप्रतिको स्वाभाविक आक्रोशका रूपमा लिइएको थियो । तर, समयाक्रममा सो घटना तात्कालिक आक्रोशको परिणाम नभई नियोजित भएको पुष्टि हुँदै छ ।

पृथ्वीनारायण शाहले साढे दुई शताब्दीअघि नेपालबाट पादरीहरूलाई देश निकाला गरेको बदलास्वरूप उनको सालिकमाथि प्रथम आक्रमण भएको तथ्योद्घाटन घटनाक्रमहरूले गर्दै छ ।

राजनीतिक परिवर्तनको पहिलो दिन पृथ्वीनारायण शाहको सालिक ढालिनु, त्यसपछि संविधान जारी हुनुभन्दा आठ वर्ष पहिले नै राजसंस्था विस्थापनको घोषणा गरिनु, हिन्दूराज्यको पहिचान मेटेर कपटपूर्ण तरिकाले धर्मनिरपेक्ष बनाइनु, जातीय एवम् क्षेत्रीय सद्भावमा टिकेको नेपालको अस्तित्वलाई जगैदेखि ध्वस्त गर्नका निम्ति क्षेत्रीयतावाद र जातिवाद प्रोत्साहित हुने सङ्घीयतालाई बलजफ्ती प्रवेश गराउनुले पश्चिमा इसाईहरू कति सूक्ष्म र सशक्त ढंगले नेपालमा क्रियाशील थिए–छन् भन्ने स्पष्ट गर्दछ ।

काङ्ग्रेस आफैँ धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताजस्ता मुद्दा बोक्न खोज्ने या बोक्न सक्ने राजनीतिक समूहमा पर्दैनथ्यो । त्यसैले कम्युनिस्ट पार्टीमार्फत एजेण्डा प्रवेश गराउने र कम्युनिस्टमार्फत आएका एजेण्डा काङ्ग्रेस नेतृत्वलाई स्वीकार गराउने काम २०६२ सालमा ‘कुशलतापूर्वक’ सम्पन्न गरियो ।

दक्षिण कोरियाली धनाढ्य इसाई महिला (हाक जा हान मुन)को धर्म प्रचारक संस्थासँग उनको लामो समयदेखि आबद्धता रहेको व्यहोरा सार्वजनिक हुँदा धेरै नेपालीलाई दुःख लागेको छ । उनले आफ्नै आमाको किरियाकर्म नगर्नुलाई समेत चर्चसँगको आबद्धताका रूपमा अर्थ लगाउन थालिएको छ । प्रचण्डहरू ‘एक्स्पोज्ड’ पात्र र त्यसमा माधवकुमार नेपाल थपिए पनि केपी शर्मा ओलीप्रति आमनागरिकको बेग्लै भरोसा र सम्मानभाव थियो । इसाई उत्सव (२०१८) मा सरकारलाई औपचारिक रूपले सहभागी गराएपछि केपी ओलीको राष्ट्रवादी छविमा मात्र धक्का पुगेको छैन, कुनै पनि कम्युनिस्ट नेताहरू देशप्रति कति इमानदार छन् भन्ने आशङ्कासमेत यसले जन्माएको छ ।

यद्यपि, युनिफिकेसन चर्चको कार्यक्रममा सहभागी हुने पहिलो प्रधानमन्त्री केपी ओली अलिक भिन्न र विशिष्ट भूमिकाको अपेक्षा गरिएकोले उनीप्रति निराशा बढेको छ । केपीजत्तिका नेताले यस्ता गतिविधिलाई ‘रेस्पन्स’ गर्न आवश्यक थिएन भन्ने आमबुझाइ हो । जब हरेक नेपाली हिन्दू धर्मावलम्बीले बौद्ध र किरातलगायतका धर्मलाई आफ्नै मान्छन् भने किरात र बौद्धमार्गीहरूले चाहिँ सनातनी हिन्दूलाई पराया र परायाभूमिबाट आयातीत क्रिश्चियानिटीप्रति अपनत्व दर्शाउनुपर्ने कुनै कारण हुन सक्छ र ? समयमै सचेत बनौँ, देशको रक्षा गरौँ ।’