हिन्दु राष्ट्रका लागि हुने आन्दोलनमा हामीलाई साथ दिनुहोस :राप्रपा - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

हिन्दु राष्ट्रका लागि हुने आन्दोलनमा हामीलाई साथ दिनुहोस :राप्रपा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्रका पक्षमा हुने संघर्ष र आन्दोलनका लागि सडकमा उत्रन आम जनतालाई अपील गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राष्ट्रका पक्षमा हुने संघर्षमा उत्रन अपील गरेको हो।

‘हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आव्हान गर्दछ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,’हिन्दु राष्ट्रको पक्षमा हुने संघर्ष र आन्दोलनमा सडकमा उत्रन विभिन्न धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई राप्रपा आव्हान गर्दछ।’

बैठकले पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा समेत गरेको छ । त्यसैगरी बैठकले भोलि हुने भनिएको पूर्वघोषित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित समेत गरेको छ।

यस्तै, दोश्रो चरणको संघर्षलाई थप सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

सिमितमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा.धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य छन् । कार्यदलले ७ दिन भित्र कार्ययोजना पेश गर्नुपर्ने जिम्मेवारी पाएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।