हिन्दूका सम्राट’को उपाधि नेपालका राजासँग मात्रै हुन्छ - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

हिन्दूका सम्राट’को उपाधि नेपालका राजासँग मात्रै हुन्छ



काठमाडौं ।

राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि सम्पूर्ण देशभक्त नेपालीहरुलाई एकजुट हुन विश्व हिन्दू महासंघले आह्वान गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपालका नरेश विश्वभरका हिन्दूहरुको सम्राट रहेकोले धर्म रक्षाको लागि पनि नेपालमा राजसंस्था अपरिहार्य रहेको जनाएको छ ।

गत कात्तिक ४ गते पूर्वराजाबाट व्यक्त भएको अभिव्यक्ति समय सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल तथा स्वागतयोग्य भएको भन्दै महासंघले स्वागत पनि गरेको छ । २०४४ सालमा दशरथ रंगशालामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलनमा सबै शंकराचार्यहरु, ॐकार परिवार तथा विश्वका २६ देशका प्रतिनिधि सहभागी भएको कार्यक्रममा नेपाल नरेशलाई हिन्दू सम्राटको उपाधि दिइएको तथ्य अगाडि सार्दै महासंघले नेपालको पहिचान मास्न नहुनेमा जोड दिएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष जनरल भरत केसर सिंहले भने, ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको अथक प्रयास र तपस्याले एकीकरण भएको यो मुलुकलाई सवल सक्षम र अक्षुण राख्न, हिन्दूरँष्ट्र, राजसंस्था प्राप्तिका लागि हामी सबै नेपाली एक जुट भई देशव्यापी रुपमा अगाडि बढ्न आवश्यक छ ।’सो अवसरमा महासंघद्वारा जारी विज्ञप्तिमा पूर्वराजाले देशको नेतृत्व लिन्छु भन्दा सम्पूर्ण देशभक्त नेपालीमा ऊर्जा थपिएको उल्लेख छ ।