हिन्दू धर्म परिवर्तन गर्ने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ :नेता नेपाल - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

हिन्दू धर्म परिवर्तन गर्ने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ :नेता नेपाल



चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

उनले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे । उनले भने, “व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।”

चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाई थियो ।

नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने “माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।” विसंं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उहाँको भनाई थियो ।

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए ।अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताए ।

नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने उनले बताए ।