हिमपातले पुरै प्रदेश ७ को जनजीवन प्रभावित - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

हिमपातले पुरै प्रदेश ७ को जनजीवन प्रभावित



बैतडी  । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ ।

हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ ।

यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका स्थानीयवासी दानसिंह तिंकरीले बताए।

डडेल्धुरा सदमुकामलगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टेलगायत स्थानमा हिमपात भएको स्थानीयवासी आषिश मल्लले जानकारी दिनुभयो । बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेक, पीठालेक, दौलीचौर, सुर्मा, काँडालगायत क्षेत्रमा पनि हिमपात शुरु भएको छ । सो क्षेत्रमा मंगलबार रातिदेखि पानी पर्न थालेको हो । उच्च पहाडी भेगमा हिमपात जारी छ । यस्तै अछामको उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।

मुस्ताङमा हिमपात

हिमाली जिल्ला मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिए। लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् ।

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । हिमपातसँगै हुरी बतास पनी चलेको सुवेदीले बताए। “एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि पोखरा जोमसोम हवाई उडान अवरुद्ध छ । बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा सवारीसाधन चलेका छैनन्,” उनले भने।

मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र घोडेपानीमा समेत हिउँ परेको छ ।

बाजुरामा पनि हिमपात

मंगलबार दिउँसोदेखि मौसम परिवर्तनसँगै रातिदेखि जिल्लामा पानी परेको छ । गहुँ बाली, तरकारी सुकेर जाने अवस्था पुगेकाले पानी परेपछि किसान हर्षित भएका छन् । पानी परेसँगै जिल्लाको उत्तरी भेगमा हिउँ परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले जानकारी दिए।

बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च भेगमा हिमपात भएको छ । उनले भने, “वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसान खुशी भएका छन् ।”

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मीनप्रसाद जैशीले पानी परेपछि केही मात्रामा गहुँ उत्पादन बढ्ने आशा व्यक्तगरे। “लामो समयको खडेरीका कारण गहुँ बाली सुकेर गएकाले खेतमा छरेको बीउको शेषसमेत जोगाउन किसानलाई मुस्किल भएको थियो,” उनले भने।

हिमाली गाउँपालिकाको १, २ र ३ वडा बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको छ । त्यहाँका स्थानीयवासीलाई घरभन्दा बाहिर आवजजावत गर्न समस्या भएको स्थानीय धर्मराज सुनारले बताउनुभयो । यसैगरी गौमुल गाउँपालिकाको दहकोट, मानाकोटलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि सो क्षेत्रका विद्यालय बन्द भएका छन् । रासस